स्वास्थ्य संकटकालबारे मन्त्रिपरिषदमा छलफल

प्रकाशित मिति:

कोभिड– १९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य संकटकाल प्रस्तावमाथि मन्त्रिपरिषदमा छलफल भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य संकटकाल, संक्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एकद्वार प्रणालीबाट सूचना संकलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार स्वास्थ्य संकटकाल अर्थात् आपतकाल र संक्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रलय र कानुन मन्त्रालयलाई थप गृहकार्य गर्न भनिएको छ ।

मन्त्रिपरिषद्ले ऐन संशोधनका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको थियो। एक अर्का मन्त्रीका अनुसार बैठकमा द्रुत रूपमा सेना परिचालनसम्बन्धी पनि छलफल भएको थियो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको एकीकृत स्वास्थ्य प्रणाली अवलम्बनका लागि प्रस्ताव अगाडि बढाउन निर्देशन दिएका थिए ।