सुजाता निवासमा बन्याे देउवालाई घेराबन्दी गर्ने ‘प्लान’

प्रकाशित मिति:

बुटवल ११ मंसिर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवा इतरका नेताहरुलाई आफ्नो निवास मण्डिखाटारमा दिवा भोज दिएकी छिन् ।आज दिउँसो ११ बजेदेखि उनको निवासमा सुरु भएको भोजमा कोइराला परिवारसहित देउवाको विरुद्धमा देखिएका नेताहरु सहभागी भएका छन् । भोजको क्रममा औपचारिक कार्यक्रम नभएपनि नेताहरुबीच छलफल भएको छ ।

सभापति शेरबहादुर देउवालाई घेराबन्दी पार्न सुजाताले आफूनिकटका नेताहरुसँग छलफललाई तिव्रता दिएकी छन् ।

‘पार्टीभित्र सभापतिको मनोमानी बढेकाले सामान्य छलफलका लागि भेला आयोजना गरिएको रहेछ । आज भने खासै ठुलो निर्णय केही पनि भएन’, छलफलमा सहभागी एक नेताले भने, ‘महाधिवेनलाई प्रभावित गर्ने मनसाय त होइन तर अनौपचारिक रुपमा केही कुराहरु उठेको छ ।’

भोजमा कोइराला परिवारबाहेक केही साताअघिदेखि युवा समूहको नाममा सक्रिय नेताहरु धनुराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रामकृष्ण यादव, प्रदीप पौडेललगायतका नेताहरु भोजमा सहभागी भएका छन् ।

यसअघि पनि सुजाता कोइरालाले आफ्नो निवास कांग्रेसका नेताहरुलाई भोज दिएकी थिइन् । २६ कात्तिकमा कोइरालाले दिएको भोजमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका सहभागी थिए ।