नेप्से परिसूचकले ईतिहास रच्यो ,सेयर बजार उकालो यात्रामा

प्रकाशित मिति:

आज मंगलबार पनि सेयर बजारले उकालो यात्रालाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा पुगेको छ । नेप्सेको यो बिन्दु हालसम्मकै उच्च हो । आज नेप्से परिसूचक १.२६ प्रतिशतले बढेको हो । यसअघि आइतबार र सोमबार निरन्तर नयाँ रेकर्ड राखेको बजारले आज मंगलबार पनि ऐतिहासिक बिन्दु चुम्न सफल भएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर २७३१.२९ बिन्दुमा पुगेको थियो भने सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ बिन्दुमा पुगी यसअघिको सम्पूर्ण रेकर्ड तोडेको हो ।

यतिबेला देशका मुख्य शहरसहित अघिकांश जिल्लामा निषेधाज्ञा जारी छ । जसले गर्दा अन्य सम्पूर्ण व्यवसाय ठप्प छ । यसबीच सेयर बजार भने निरन्तर उकालो लागेको छ । आज सेन्सेटिभ परिसूचक पनि ४.६४ अंकले बढेर ४९७.२२ बिन्दुमा पुगेको छ । आज कूल २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको छ । ११ अर्बभन्दा माथिको कारोबार गरी बजारले नयाँ रेकर्ड राखेको हो । यसअघि बजारमा सबैभन्दा धेरै रकम बराबरको कारोबार गत माघ २५ गते भएको थियो । त्यसबेला बजारले १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार गरी रेकर्ड राखेको थियो । सो रेकर्डलाई आज ब्रेक गरेको छ ।कारोबार पछिल्लो ३ दिन यता कारोबार रकममा पनि उछाल आइरहेको छ । आइतबार बजारमा १० अर्ब २ करोड ६६ लाख २८ हजार ११६ रुपैयाँको कारोबार भएको थियो भने सोमबार पनि ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।लामो समयपछि कारोबार रकम पनि बढ्न थालेको हो । निषेधाज्ञाबीच बजारमा ठूला लगानीकर्ताले प्रवेश गरेको विश्लेषकहरु बताउँछन् । अघिकांश लगानीकर्ताहरु हाइड्रोपावरमा झुण्डिएका छन् ।

आज कारोबार भएका १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य बढेको छ ।यस्तै, आज ११ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बेष्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रोपावर, विशालबजार कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मिथिला लघुवित्त, नेशनल हाइड्रो पावर, ओरेन्टल होटल, सोल्टी होटेल, समता घरेलू लघुवित्त, मिथिला लघुवित्त र शिव श्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।त्यसैगरी, अन्य २ दर्जन कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । अन्य २ दर्जन कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।नेपाल फाइनान्स, तारागाउँ रेजेन्सी होटल, राधी विद्युत कम्पनी, रुरु जलविद्युत परियोजना, रिडी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर लगायत कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो ।यता नेपाल टेलिकम, अप्पर तामाकोशी हाइड्रोपावर, शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक लिमिटेडको १०.२५ प्रतिशत डिबेन्चर-२०८०/८१, ज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बोटलर्स नेपाल (तराई) र लक्ष्मी इक्वीटी फण्डको सेयरमूल्य सबैभन्दा बढी घटेको छ । त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, नागरिक लगानी कोष, नेशनल हाइड्रोपावर, अरुण कावेली पावर, युनाइटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट,चिलिमे हाइड्रोपावर, बुटवल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वाधिक रकमको कारोबार गरेको छ ।@arthasansar.com