सडक बालबालिकालाई बिस्कुट र चाउचाउ बांड्दै रोनिश

प्रकाशित मिति:

बुटवल, ४ जेठ । लकडाउनका कारण खाना खान नपाएका सडक बालिबालिकालाई बुटवलका युवा उद्यमी रोनिश श्रेष्ठले विस्कुट र चाउचाउ बांडेका छन् ।

बुटवलका विभिन्न चोक र गल्लीमा समूह–समूहमा भेटिएका करिब ३५ जना सडक बालबालिकालाई प्रति समूह २ कार्टुनका दरले १५ कार्टुन बिस्कुट र चाउचाउ वितरण गरेको श्रेष्ठले बताए । सोमबारदेखि शुरु भएको यो अभियान अझै दुई दिन चल्ने उनले बताए । रोनिशलाई यस कार्यमा काठमाडौंका अहमद डुल्ला र बुटवलका अनिशजंग क्षेत्रीले साथ दिएका छन् । आफुले खाना नै खुवाउन चाहेको भएपनि प्रशासनले अनुमति नदिएका कारण बिस्कुट र चाउचाउ बांडेको श्रेष्ठले बताए ।

‘अभिभावक विहीन सडक बालबालिकालाई कसैले पनि वास्ता नगरेको देखेर उनीहरुलाई खाना खुवाउन खाजेको तर प्रशासनले कोरोनाका कारण नदिएपछि बिस्कुट र चाउचाउ भएपनि बांडेको हुं’–श्रेष्ठले भने–‘बुटवल सडक मानवमुक्त भनेर उपमहानगरले प्रचार गरेपनि वास्तविकता त्यस्तो छैन, सडकमा थुप्रै बेसहारा र अभिभावकविहीन बालबालिका छन् ।’