प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने

प्रकाशित मिति:

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार खोसी विशाल ग्रुपलाई दिएमा प्राधिकरण कर्मचारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । प्राधिकरणको आधिकारिक ट्रेड युनियन कर्मचारी युनियनका अध्यक्ष रामेश्वरप्रसाद पौडेलले विद्युत् व्यापारमा निजी कम्पनीसित प्राधिकरणलाई पनि मिसाई गरिने विद्युत् व्यापार आफूहरुलाई सह्य नहुने बताए ।

‘कुनै व्यक्तिको स्वार्थका लागि विद्युत् व्यापार दिने कुरो भयो भने हामी आन्दोलन गर्छौं,’ विशाल ग्रुपलाई प्राधिकरणको व्यापार खोस्ने गरी ऊर्जा मन्त्रालयले प्रक्रिया अघि बढाएको समाचार इकागजले प्रसारण गरेपछि अध्यक्ष पौडेलले भने, ‘प्राधिकरणका संरचना भटाभट दिने, महँगो दरमा किनेर सस्तो दरमा बेच्नुपर्ने यी बेथितिको हामी विरुद्धमा छौं ।’ऊर्जा मन्त्रालयले विशाल ग्रुपको लगानी रहने विद्युत् व्यापार कम्पनीलाई अनुमति दिन प्रक्रिया अघि बढाएको छ । ऊर्जाले अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार गरेको इकागजसले खुलासा गरेको थियो । अर्थ मन्त्रालयबाट सहमति आउनेबित्तिकै मन्त्रिपरिषद्मा प्रस्ताव गरी निर्णय गराउने योजना पनि इकागजले सार्वजनिक गरेको थियो ।

नेपालको कानुनले अन्तर्राष्ट्रिय बजारमा बिजुली किन्न र बेच्न नेपाल सरकार (मन्त्रिपरिषद्) को स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । त्यही प्रावधान अन्तर्गत विद्युत् व्यापार कम्पनीलाई अनुमति दिन प्रक्रिया अगाडि बढाइएको हो ।विद्युत् प्राधिकरण र अन्य सरकारी निकायको समेत शेयर रहने गरी विशाल ग्रुपले कम्पनी बनाउन लागेको हो । प्राधिकरण र सरकारी निकायको पनि सहभागिता भएपछि विद्युत् बिक्री गर्न वा निकासी गर्न प्राधिकरणका अथाह संरचना उपयोग गर्न सकिन्छ । प्राधिकरणले एक वर्षमा ७६ अर्ब रुपैयाँको विद्युत् व्यापार गर्छ ।