रोल्पा — कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्थानीय प्रशासनले जेठ २० गतेसम्म निषेधाज्ञा थपेको छ ।जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बृद्धि हुनेक्रम देखिएकाले नियन्त्रणका लागि सहज हुने निष्कर्षसहित निषधाज्ञा थप्नु परेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लाभर संक्रमण बढेको देखिएकाले नियन्त्रणका लागि पहल थाल्नुका साथै मानिसहरुको आवातजावत रोक्न थप १५ दिनसम्म निषेधाज्ञा थपिएको बताए ।
स्थानीय तहका प्रमुख, सरोकारवालासहितको सुझावपछि सोमबारको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीएमसीसी० को बैठकले निषेधाज्ञा थप्न निर्णय गरेको हो । यसअघि पहिलोपटक गत वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । प्रशासनले निषेधाज्ञा गर्दा पनि संक्रमण रोक्ने उद्देश्यले विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा सिल गरिएको जनाएका छन् ।
२४ घण्टामा १९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा रोल्पामा १९ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबारसम्म संक्रमित हुनेको संख्या ४ सय ५८ छ । हालसम्म ३६ जना निको भएका छन् । निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी देखिएको छ । उपचाररत संक्रमितको मृत्यु भएपछि झन सबैमा त्रास फैलिएको छ । अहिलेसमम्म रोल्पामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।