कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको ८ करोड सहयोग

प्रकाशित मिति:

काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा मंगलबार नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ ।

कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने विश्वास लिएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको छ । वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैंकले थप प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग ८ करोडको सहयोग प्रदान गर्ने भएको छ ।