खोपको पर्खाइमा जनता

प्रकाशित मिति:

देश कोभिड दोस्रो लहरको महामारीमा चुर्लुम्म डुबेको छ । डबल म्युटेन्ट, ट्रिपल म्युटेन्ट लगायतका नयाँ नयाँ भेरियन्ट देखा पर्न थालिसकेका छन् । अरू देशका नेताहरूले भाइरसका विकसित भइरहेका नयाँनयाँ प्रकारको कसरी सामना गर्ने भन्ने योजना बनाइरहेका छन् भने हाम्रो देशका नेताहरू भने कसरी आफ्नो कुर्ची जोगाउने र अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने राजनीतिक दाउपेचमै छन् । जनता एकातिर कोभिडले आक्रान्त छन् भने अर्कोतिर रोजीरोटी गुमेर भोकमरीले थङ्थिलो भइरहेका छन् । नेतागणलाई रोग, भोक, र शोकमा आहाल खेलिरहेका जनताप्रति कुनै चासो छैन । चासो छ त केबल आफ्नो कुर्ची, सत्ता जोगाउने र लडाउने खेलमा । अब त जनताले नेपालमा सरकार छ भन्ने कुरा पनि बिर्सन थालिसके । नेताहरू यसरी नै राजनीतिक दाउपेचमा रूमल्लिरहने हो भने नेपालमा भ्याक्सिन आउने र आम सर्वसाधारण जनताले भ्याक्सिन लगाएर ढुक्कसाथ हिँड्ने वातावरण सिर्जना हुने कुरा कल्पना मात्रै हुनेछ । भ्यक्सिन लगाएर ढुक्क हुन पाइन्छ भन्ने कल्पनामै धेरैले ज्यान गुमाइसकेका हुनेछन् । 

जबसम्म सबै नागरिकले खोप लगाउन पाउँदैनन् तबसम्म कोरोना हराउँछ अथवा यसलाई परास्त गरियो भनेर सोच्नु महामूर्खता हुनेछ । कोरोना नियन्त्रणको एकमात्र विकल्प अव खोप नै हो भन्ने कुरा सर्वविदितै भएको छ । हरेक वर्ष एक पछि अर्को लहर आउने क्रम जारी नै हुन सक्छ जसको लागि नेताहरूले राजनीतिक दाउपेच छोडेर आजैदेखि नेपालमा कसरी सर्वसुलभ तरिकाले जतिसक्दो चाँडो खोप ल्याउन सकिन्छ भनेर खोप ल्याउने दाउपेचमा लाग्नु उत्तम होला । अझै पनि यस बारेमा नसोच्ने हो भने नेपालका सर्वसाधारण नागरिकले आगामी दस वर्ष सम्म पनि खोप लगाउन पाउने छैनन् । जनतालाई कोरोनाको भय, त्रास र मृत्युबाट अलिकति भएपनि राहत महसुस गराउनको लागि पार्टीका खेल, कुर्चीका खेल, पार्टी जुटाउने, फुटाउने सबै खेल छोडेर कोभिड भ्याक्सिन लगाउने खेलतर्फ सबैको ध्यान जाओस् । यो खेलमा छिट्टै गोल गर्न सकियो भने इतिहास रचिनेछ र चिरकालसम्म जनताले सम्झने छन् । राजनीतिक लडाइँ, कुर्चीको खेल, कमिसनको खेलबाट मनोरञ्जन लिन र त्यस्ता खेल खेल्न बानी परेका नेताहरूबाट अनि भ्रष्टाचारमा लिप्त कर्मचारीतन्त्र र व्यापारको नाममा लुट्न पल्केका व्यावसायिका कारणले गर्दा सजिलै खोप आउला र लगाउन पाइएला भनी ढुक्क भएर बस्ने अवस्था छैन । यही अवस्था रहने हो भने त साधारण जनताको लागि खोप लगाउने कुरा ‘आकाशको फल आँखा तरी मर’ जस्तै नहोला भन्न सकिँदैन ।

लेखकः अनन्त भण्डारी