गुगल फोटोमा नयाँ फिचर, गोप्य फोटो लुकाउन मिल्ने

प्रकाशित मिति:

काठमाडौं । कहिलेकाहिँ अरुलाई आफ्नो फोनमा भएको एउटा फोटो देखाउँदा उनीहरुले दायाँ र बायाँ स्वाइप गरेर अन्य तस्वीररहरु पनि हेरिदिन्छन् । कुनै बेला यस्तो अवस्था पनि आउन सक्छ, आफूले गोप्य राख्नुपर्ने तस्वीर जानेर वा नजानेर अरुले देख्न सक्छन् ।

झन् कसैको फोन साथीभाई वा परिवारका सदस्यले बेला बेला प्रयोग गर्छन् भने त यस्तो समस्या बढी नै हुन्छ । यस्तो समस्याको समाधानको लागि गुगलले आफ्नो फोटो स्टोरेज एप गुगल फोटोमा नयाँ फिचरको घोषणा गरेको छ ।गुगल फोटोजले अब फोल्डर लक गर्ने सुविधा दिने भएको छ । यस्तो सुविधाले प्रयोगकर्तालाई अरुलाई संवेदनशील फोटोहरु पासवर्ड लक गरेर राख्ने विकल्प दिनेछ । गुगलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्सको अवसर पारेर बुधबार यो सुविधाको घोषणा गरेको हो ।

लक्ड फोल्डर राखिएको यो सुविधाले प्रयोगकर्तालाई गुगल फोटोमा संवेदनशील र गोप्य तस्वीरहरु लुकाएर राख्ने सुविधा दिनेछ । लक गरिएको फोटोहरु गुगल फोटोजको फिडमा नदेखिने गुगलले जनाएको छ ।