औषधि र स्वास्थ्य सामग्री आयातमा भन्सार महसुल र कर छुट हुने

प्रकाशित मिति:

काठमाडौं । सरकारले कोरोनाको उपचार तथा रोकथाममा आयात हुने स्वास्थ्य सामग्री र औषधि आयातमा भन्सार महसुल तथा कर छुट दिने निर्णय गरेको छ । हाल नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोनाका बिरामीको मृत्यु हुने दर बढेर दैनिक २ सय ४६ लाग्न थालेपछि सरकारले कोभिड–१९ संक्रमित बिरामीका लागि प्रयोग हुने औषधि तथा मेडिकल सामग्रीहरू आयात गर्दा भन्सार महसुललगायतमा यस्तो शुल्क र कर छुट दिने निर्णय गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार एक सूचना जारी गर्दै मेडिकल सामग्रीको आयात गर्दा भन्सार महसुल शुल्क र करमा छुट दिइएको जानकारी दिएको छ । जसका लागि अब औषधि व्यवस्था विभागले आपूर्ति सहजीकरण गर्ने निर्णय भएको आयातकर्ता, वितरक तथा बिक्रेताले विभिन्न व्यवस्था गर्नुपर्नेछ ।

सरकारको यस निणर्य कार्यान्वयनका लागि विभागले कोरोना संक्रमित बिरामीलाई दिइने रेम्डेसिभिर औषधिको खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रूपमा बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्नेछ । यसैगरी, अक्सिजन सिलिन्डर, मेडिकल ग्रेड अक्सिजन, लिक्विड अक्सिजन ट्यांक, भेन्टिलेटर मास्क, अक्सिजन रेगुुलेटरलगायत आईसीयू बेडको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रूपमा बिक्रीवितरण गर्नुपर्नेछ ।

यसैगरी, विभागले कर महसुल छुटमा पैठारी हुने विभिन्न औषधि तथा स्वास्थ्य सामग्रीको मूल्य गुणस्तर एवं बिक्रीवितरणको अनुगमन हुने हुँदा त्यस्ता वस्तुको गुणस्तर परीक्षण गरी अधिकतम खुद्रा मूल्यको जानकारी विभागमा गराउन आग्रह गरेको छ ।