राम भरोसे बनायौ !!!

प्रकाशित मिति:

प्रजापाल गिरी

राम राज्य बनाउँछु भन्थ्यौ
राम भरोसे बनायौ।
घरघरमा एलपि ग्यास पठाउने सपना बेच्नले
अक्सिजन प्लान्टबारे ध्यान दिन सकेनौ ।
अग्लो धरहराबाट काठमाडौं हेर्न भन्नेले
धरहरा ढाक्ने लासको चाङ्ग देख्न सकेनौ।

लोकतन्त्रको बिकास गर्छु भन्नेले
प्रधानमन्त्रीको सपथलाई प्रेमकथाको रुप दिलायौ।
शून्य सहनशीलता अपनाउने मिठा कुरा गर्नेले
भ्रष्ट र बिचौलियाको पोषणमा ध्यान पुर्‍यायौ ।
ठुला शहरलाई स्मार्ट सिटि बनाउछु भन्थ्यौ
अक्सिजन छैन भन्ने बोर्ड झुन्डाउन लगायौ ।
रामराज्य बनाउँछु भन्थ्यौ
राम भरोसे बनायौ ।

कोभिडको निशुल्क उपचार दिन्छु भन्नेले
वाह, छ लाखको हेलिकप्टर चड्न लगायौ ।
सबै नेपालीलाई कोभिड भ्याक्सिन दिन्छु भन्नेले
आर्यघाटमा आफन्त जलाउन दाउरा कमि नहुने सपथ खायौ।
स्वास्थ्य, नेपालीको मौलिक अधिकार भन्थ्यौ
उपचार पाउने र नपाउने दुईथरी बर्ग बनायौ ।
राम राज्य बनाउछु भन्थ्यौ
राम भरोसे बनायौ ।
सरकार, राम भरोसे बनायौ ।