वोर्ड अफ डाईरेक्टर पदमा विजय ज्ञवाली नै किन ?

प्रकाशित मिति:

अमेरिकाको नेपाली समुदायमाझ सुपरिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन २०२१–२०२३ कार्यकालको लागि ‘वोर्ड अफ डाईरेक्टर’ पदमा उमेदवारी दिएका छन् । सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई योगदान दिएका छन् । उनी हाल एनआरएन युथ कोअर्डिनेसन कमिटीका सदस्य छन्। उनले व्यवस्थापन विषयमा स्नातक तह र टुरिजममा स्नातकोत्तर गरेका छन् । विदेशमा हासिल गरेको सीप, क्षमता, दक्षता र पूँजीलाई नेपालको चौतर्फी बिकासका लागि सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको भनाई रहेको छ । एनआरएनलाई अझ व्यापक र प्रवासमा रहेका सबैको मन-मुटुमा बसाउनको लागि युवाहरुको प्रतिनिधित्व अनिवार्य रहेको उनले बताए । एनआरएनए अमेरिकाको बोर्ड डाइरेक्टर पदमा उमेदवारी दिएका ज्ञवालीसँग सबल पोष्टले गरेको कुराकानीको सारांश।

गैर आवासीय नेपाली संघ,अमेरिकामा आफ्नो आवद्धता र भूमिकालाई समेटेर आफ्नो संक्षिप्त परिचय दिनुहोस् …

म विजय ज्ञवाली, न्युयोर्कमा रियलस्टेट एजेन्टको रुपमा कार्यरत छु। मेरो जन्म गुल्मी जिल्लाको थोर्गामा भयो। मैले हुर्के, बढ़े र पढेको बुटवल। सन् २०१७ मा अमेरिका आएको हूँ।

१) गैर आवासीय नेपाली संघको आगामी दुई वर्षीय कार्यकाल (२०२१-२०२३ ) का लागि नेतृत्व चयन गर्ने चुनावी सरगर्मी दिन प्रतिदिन बढ्दो छ । चुनाव कत्तिको लाग्दैछ नि ?

-उत्साहजनक रुपमा साथीहरुको शुभेच्छा पाउँदा पुलकित छु। दैनिक जसो दर्जनौँ साथीहरुको उत्प्रेरणा पाईरहेको छु। सबैसंग भेटघाट र अन्तरकृयारत छु।

२) गैर आवासीय नेपालीहरु संघ(एनआरएन)मा किन आवद्ध हुने?

  • हामी प्रवासी नेपालीहरुलाई चाहिने संस्था नै एनआरएनए हो, सरकारले चिनेको र सरोकारवालाले गुनेको संस्थामा आवद्ध हुनु भनेको आफू सुरक्षित र संरक्षित हुनु हो।

३) संस्थागत उद्देश्य अनुसार संघले लिएको कार्यदिशा र निर्वाह गरिरहेको भूमिकामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

कमजोरी छन् तर धेरै काम पनि भएका छन्, संस्था बलियो र समावेशी भएपछि बाँकी काम त गर्दै जाने हो।त्यसैका लागि सकारात्मक हस्तक्षेप गर्ने हो।

४) तथ्याङ्क अनुसार अमेरिकामा रहेका गैर आवासीय नेपालीहरु मध्ये ज्यादै न्यून संख्या मात्र संघमा आवद्ध भएको देखिन्छ,कारण के होला?
– यो तपाईँ हाम्रै कमजोरी हो, खल्ती र हार्ड ड्राईभबाट सदस्यता बनाएपछि हुने यस्तै हो। संस्था हाम्रै लागि हो भन्ने लागेपछि सबै नेपालीहरु सदस्य बन्नुहुन्छ।

५) सवल पक्षहरु के के होलान् एनआरएनएका?
नेपाली जोड्ने, नेपाल सरकारसंग समन्वय गर्ने, देश दुख्दा सहयोग गर्ने, प्रवासी नेपाली हक़ हितका लागि पैरवी गर्ने संस्था त एनआरएन नै हो नि !

६) त्यसको जस लिने मुख्य हकदार कसलाई देख्नु हुन्छ ?
तपाईँ हामी चासो राख्ने सबै यसका हक़दार हौँ।

७) कमजोर पक्ष नि ?
संस्थाको मेशिन मात्रै स्मूथ नभएको हो, राम्रो मेकानिक र ड्राईभर भएपछि कमजोरीहरु सच्चिन्छन्।

८) त्यसको मुख्य जिम्मेवार को ठान्नुहुन्छ?
म कसैलाई आरोप प्रत्यारोप गर्दिन।

९) गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदका लागि तपाईंको पनि उमेदवारी रहने गरी चुनावी मैदानमा होमिनु भएको छ । तपाईँको उमेदवारीको औचित्यता के हो ?
– म यस पदका लागि योग्य छु, हजारौँ नेपाली अमेरिकन युवाहरुको प्रतिनिधित्व गर्छु, एनआरएनएको युथ कोअर्डिनेसन कमिटी अन्तर्गत काम पनि गरेको छु, जीतेँ भने केही परिवर्तन गर्न म खबरदारी गर्ने सामर्थ्य राख्छु।

१०) तपाईंको चुनावी प्रमुख मुद्धा चाहीँ के के हुन् नि ?
– युवा परिचालन, सबैको एनआरएनए, राजनीतिमुक्त समावेशी र विश्वाशिलो संस्था बनाउने मेरो प्रयास हो।

११) तपाईंलाई नै भोट किन दिने नि?
-म विद्यार्थी कालदेखि नै समाजसेवा गरेको मान्छे हूँ। योग्य छु, नेपालीहरुलाई समस्या परेको बेला सहयोग गर्न सक्षम छु।मलाई सबै पक्षहरुको ईन्डोर्समेन्ट छ।

१२) तपाईं निर्वाचित हुने आधारहरु के के हुन् ?
-मेरो क्षमता, योग्यता, लोकप्रियता र मतदाताहरुको विश्वाश।

१३) चुनावमा त नेपालका दलहरु र तिनका नेताहरुको ब्यापक चलखेल र हस्तक्षेप हुन्छ भन्ने सुनिन्छ त साँच्चै हो र?

त्यही सिण्डिकेट हटाउन म चुनावमा होमिएको हूँ, मैले जिते पनि हारे पनि मेरो आवाजको आयतन घट्न दिन्न। जिते विजेता हारे अभियन्ता ।
१४) अन्तमा केही भन्नु छ कि?
सबैलाई एनआरएनएमा स्व:स्फूर्त सदस्यता लिन अनुरोध गर्दछु,
तपाईँको लोकप्रिय अनलाईन टीमका सबैलाई धन्यवाद। उत्तरोत्तर प्रगतिको कामना।