स्प्रेड दर उच्च राखेर मुनाफा बढाउँदै बैंकहरू, पहिलो त्रैमासिकमै १५ अर्ब नाघ्यो

प्रकाशित मिति:

मंसिर ११, २०७५ काठमाडौं – स्प्रेड दर (लिने र दिने ब्याजदर बीचको अन्तर) उच्च हुँदा बैंकहरूको मुनाफा अघिल्लो वर्षको तुलनामा झण्डै ५० प्रतिशत बढेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूले खुद मुनाफा १५ अर्बभन्दा बढी पुर्‍याएका हुन् ।

 

गत साउनदेखि असोजसम्मको अवधिमा वाणिज्य बैंकहरूको खुद मुनाफा १५ अर्ब भन्दा बढी पुगेको बैंकहरूको त्रैमासिक वित्तीय प्रतिवेदनले देखाएको छ । बैंकहरूको यो मुनाफा गत आर्थिक वर्षको तुलनामा करीब ५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको खुद मुनाफा साढे १० अर्ब रहेको थियो ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकहरूले स्प्रेड दर उच्च राखेका कारण नाफा बढाउन सफल भएको बताए । उनले बैंकहरूले निक्षेपको ब्याज खुम्च्याएको र लगानी बढाएको कारण त्रैमासिक नाफा बढाउन सफल भएको बताए ।

‘कर्जा प्रवाहमा उनीहरूको ब्याज १३ देखि १६ प्रतिशतसम्म छ,’ उनले भने, ‘निक्षेपको ब्याज फिक्स डिपोजिटमा १० प्रतिशत र बचतमा ७ प्रतिशत मात्रै छ । ब्याजदरको अन्तर र बैंकहरूले नाफा कसरी आर्जन गरे भन्ने कुरा यसबाटै प्रस्ट हुन्छ, ।’

बैंकहरूले त्रैमासिकमा नाफा आर्जन् गरेपनि तरलताको अभाव रहको बताइरहेको प्रति पूर्वगभर्नर क्षेत्रीले आश्चर्य व्यक्त गरे । तरलताको अभाव नरहेको उनको अनुमान छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले तरलताको अभाव नभएको स्पष्ट पारेको स्मरण गर्दै उनले साना बैंकहरूले तरलताको अभाव भन्ने गरेका बताए ।

‘बैंकहरू नाफा बढाउनतर्फ अग्रसर भए,’ उनले थपे, ‘लगानी बढाउन थालेपछि साना बैंकहरूले तरलता अभाव रहको बताएका हुन् ।’ नाफाका निम्ति अग्रसर भइरहेका बैंकहरूले जहिले पनि बजारमा तरलताको अभाव भन्ने गरेको उनको भनाइ थियो ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उच्च नाफा कमाउनेहरूमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक लिमिटेड रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा १ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सो अवधिको नाफा १ अर्ब ५ करोड ४६ लाख तथा नबिल बैंकको १ अर्ब ५ करोड २४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कृषि विकास बैंकले ६६ करोड तथा एनआइसी एसिया बैंकले ७८ करोड नाफा पुर्‍याएको प्रतिवेदनले देखाउँछ । यी बाहेक प्रभु बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक लगायतका बैंकहरूले पनि सो अवधिमा नाफा वृद्धि गरेका छन् ।

सो अवधिमा नेपाल बैंक लिमिटेडको नाफा तुलनात्मक रुपमा घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ९७ करोड नाफामा रहेको सो बैंकको चालू आर्थिक वर्षको सोही अवधिको नाफा ९१ करोड रुपैयाँ रहेको छ ।