विराटनगर महानगरद्वारा ५१ शय्याको आइसोलेसन सेन्टर सञ्चालन

प्रकाशित मिति:

मोरङ – विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५१ शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। महानगरपालिका–१ स्थित भट्टामोडमा महानगरपालिकाले लक्षणसहितका बिरामीलाई राखेर उपचारका लागि सोमबारदेखि सेन्टर सञ्चालन गरेको जनाएको छ। महानगर प्रमुख पालिकाका मेयर भीम पराजुलीले अस्पतालमा बिरामी उपचारका लागि शय्या अभाव भइरहेको अवस्थामा स्थानीय तहले जिम्मेवारीबोध गर्दै सेन्टर सञ्चालनमा ल्याएको बताएका छन्।

पराजुली मेयरले महानगरपालिकाका संक्रमित सर्वसाधारण जसलाई घरमा बस्न समस्या छ उनीहरूका लागि सेन्टर स्थापना गरिएको जानकारी दिए। अस्पतालको महँगो शुल्क उपचार व्यहोर्न नसक्ने बिरामीका लागि महानगरले सेन्टर स्थापना गरेको उनको भनाइ छ।सेन्टरका लागि स्थानीय शिक्षादीप कलेजले सय थान अक्सिजनसहित सिलिन्डर उपलब्ध गराएको छ। मुलुकमा अक्सिजन अभावमा संक्रमितले मृत्युवरण गरिरहनुपरेको बताउँदै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले अक्सिजन अभाव भइरहँदा कलेजले बिरामीको उपचारका लागि सहयोग गरेको जानकारी दिए। कलेजले आगामी दिनमा समेत सेन्टरमा रहेका बिरामीलाई सहयोग गर्ने जानकारी दिँँदै उनले सय थान ४७ दशमलव ५ लिटरको अक्सिजन उपलब्ध गराएको प्रस्ट पारे।

अहिले विदेशमा रहेका नेपालीले अक्सिजन सहयोग गरिरहेको अवस्थामा प्रिन्सिपल खड्काले महानगरपालिकाले सुरु गरेको सेन्टरमा उपचाररत बिरामीको श्वासप्रश्वासमा समस्या आउन नदिन अक्सिजन प्रदान गरेको बताए। सेन्टरमा ६ जना सामान्य संक्रमितलाई उपचारका लागि राख्ने तयारी भएको महानगरपालिकाका कोभिड १९ संयोजक हैदर अलीले बताए। वातानुकुलित कक्षसहित प्रत्येक शय्यामा अक्सिजन सिलिन्डर, अक्सिमिटर, वाफ लिने मेसिन जडान गरिएको उनले जानकारी दिए। अलीले सेन्टरमा संक्रमित बिरामीको हेरचाहका लागि २ जना एमबीसीएस र १ जना फिजिसियन चिकित्सक, ७ जना नर्स, ३ जना पारामेडिकलको टोली खटिने बताए। सेन्टरमा संक्रमित ल्याउन स्थानीय पोखरिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरेको छ। बिरामीको स्वास्थ्य समस्या जटिल भएको खण्डमा तत्काल ठूला अस्पताल लैजाने गरी तयारी गरिएको महानगरपालिकाले जनाएको छ।