विश्वासको मत नलिँदै नयाँ सरकार गठन प्रक्रिया प्रति कांग्रेसको आपत्ती

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‍मा विश्वासको मत नलिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेभित्र संविधानको ७६ को ५ अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले यसलाई आपत्तिजनक र असंवैधानिक भनेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा नदिएको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनु असंवैधानिक भएको बताए । राष्ट्रपति भण्डारीले बिहीबार दलहरूलाई शुक्रबार साँझ ५ बजेसम्म बहुमत पुग्ने आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अन्यौलमा राख्न जायज नहुने भन्दै धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेपछि त्यस प्रक्रिया अघि बढेको राष्ट्रपतिल कार्यालयले जनाएको छ ।