शव व्यवस्थापनका लािग रकम लिए कारवाही : अस्पताल विकास समिती

प्रकाशित मिति:

कोरोना संक्रमितको मृत्यु पश्चात मृतकको शव व्यवस्थापनका लागि अस्पतालको तर्फबाट कसैले रकम लिएको भए कारवाही हुने अस्पताल विकास समितिले जनाएको छ । शव व्यवस्थापनमा अस्पतालको तर्फबाट कुनै कर्मचारीको संलग्नता भए कारवाही प्रक्रिया अगाडी बढाइने समितिले स्पष्ट पारेको छ । केही दिनदेखि उपचारको क्रममा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनका लागि अस्पतालकै एम्बुलेन्सबाट स्वर्गद्वारी घाटसम्म पुर्याउँदा ४० हजार रुपैयाँ लिइएको भन्ने कुरा बाहिर आएको तर यो कुरामा सत्यता नरहेको समितिको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले रकम लिएको प्रमाणसहित आए उक्त रकम पनि फिर्ता गर्न तयार रहेको बताए । सामाजिक संजालमा त ६० हजार लिएको कुरा आएको भए पनि त्यसमा सत्यता नरहेको भण्डारीले बताए । ‘हुँदै नभएका कुराहरु बाहिर हल्ला फैलाइएको छ, यसले अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल घटाउँछ, उपचारमा खटिएका जनशक्तिलाई राम्रो हुँदैन, जनमानसमा पनि यसले राम्रो सन्देश जाँदैन, ’उनले भने । अस्पतालको एम्बुलेन्सले कोरोना संक्रमित बिरामी नबोक्ने उनले बताए । पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष भण्डारीले कोरोना संक्रमितको मृत्यु भएपश्चात शव अस्पतालबाहिरको एम्बुलेन्सले बोक्ने गरेको जानकारी दिए । ४० हजार रसिद तिरेको प्रमाणसहित आए तत्काल उक्त रकम फिर्ता हुने उनको भनाइ छ । ‘तर अस्पतालको संलग्नता नभएका कुराहरु बाहिर ल्याउने कार्यको विकास समिति तथा प्रशासनले खण्डन तथा भ्रत्सना गर्दछ, ’उनले भने । २५ शैया भएको अस्पतालमा प्रयाप्त जनशक्ति नरहेको र कोभिड संक्रमित बिरामीको उपचारको लागि ६८ वडा बेड रहेको उनले जानकारी दिए । ‘डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी खटेको कुरा कम नआउने, उहाँहरुको मनोबल बढाउने कुरा कम आउने, तर धेरै अपवाह फैलाउने काम गर्नु राम्रो होइन, ’भण्डारीले भने ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले कोरोना संक्रमित बिरामीको उपचारमा कुनै कसर बाँकी नराखेको बताइन् । ‘संक्रमित बिरामीको निःशुल्क उपचार, यहाँसम्म कि टिकट पनि निःशुल्क व्यवस्था गरिएको छ,’ उनले भनिन् । उनले बाहिर नकारात्मक सन्देश जाँदा त्यसले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल घटाउने बताइन् । अहिले गेटमा पनि कडाइ गरिएको उनको भनाइ छ । कोभिड संक्रमितको ज्यान नजाओस् र निको पार्न सकियोस् भनेर अस्पताल राम्रो भन्दा राम्रो सेवा दिने तर्फ अगाडी बढेको डा. गुप्ताले बताइन् । अस्पताल विकास समितिले नेतृत्व पाएसंगै सुधारका धेरै कार्य अगाडी बढेको उनको दावी छ ।

अस्पताल विकास समितिको प्राथमिकता ः अक्सिजन प्लान्ट स्थापना

भीम अस्पताल विकास समितिको नयाँ नेतृत्वले पदभार ग्रहण गरेपछि अक्सिजन प्लान्ट स्थापनालाई प्राथमिकता दिएको जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अर्थ मन्त्रालय हुँदै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पतालका लागि ३ करोड रुपैयाँ बिनियोजन भएको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट जानकारी प्राप्त भएको बताए । उनले यो रकम निश्चित कार्यका लागि बिनियोजन भएकाले अक्सिजन प्लान्ट, आइसीयू बेड र भेन्टिलेटर निर्माणमा खर्च गरिने बताए । अक्सिजन प्लान्टका लागि कोटेशन आह्वानको लागि मन्त्रालयसंग समन्यव भइरहेको उनले बताए । अक्सिजन प्लान्ट स्थापना पश्चात बचेको रकम आइसीयू बेड र भेन्टिलेटर थप्ने गरी अगाडी बढेको भण्डारीले जानकारी दिए ।

प्लान्ट स्थापनाको लागि दैनिक रुपमा सहयोग रकम संकलन भइरहेको र यस्तै किसिमको सहयोग गर्न उद्योगी, व्यवसायी, समाजसेवीहरुलाई आह्वान गरिएको उनले बताए । ‘अस्पतालमै अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट स्थापना गर्ने कुराप्रति अस्पताल विकास समिति खुशी व्यक्त गर्न चाहन्छ, ’उनले भने । अस्पतालले विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको उनले बताए ।