बाँदरका कारण बस्ती नै विस्थापित

प्रकाशित मिति:

मंसिर ११, २०७५ भोजपुर – बाँदरको आतङ्क बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् ।

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् ।

विगतका वर्षमा कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतङ्क बढेको स्थानीय टेकबहादुर तामाङले बताए । उनले भने, “तल्लो भेगका मानिस अन्यत्र गएपछि अहिले हामीलाई समेत समस्या भएको छ, परिवारका एकदेखि दुई जनाले बाँदर हेर्दैमा दिन बित्ने गरेको छ ।”

यतिबेला बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयवासीले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । सरकारले बाँदरलाई मार्न नदिएपछि झनैं समस्या भएको स्थानीयबासीको गुनासो छ ।

सोही ठाउँका तीर्थबहादुर प्रधानले भने, “बाँदरको उपद्रो बढ्दो छ, एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ, यसबाट यहाँको बस्ती नै आतङ्कित बनेको छ ।”

उनले बाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । “खोइ सरकारले बाँदर मार्नु हुन्न भन्ने कानून ल्याएको छ रे, यो उपद्रो हेर्दा सरकारले नै बाँदर नियन्त्रणमा पहल गर्नुपर्छ”, प्रधानले भने । बाँदर आतङ्कका कारण धेरै स्थानीयबासी बसाइँ सरिसकेको छ ।

यसरी बसाइँ सर्ने हो भने गाउँनै खाली हुने सम्भावना रहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना बनाएर काम गर्ने वडा नम्बर ४ का अध्यक्ष फौदसिंह कार्कीले बताए । उनले भने, “बाँदर आतङ्कको विषय वडा कार्यालयमा पनि आइरहेको छ, यसको समाधानका लागि गाउँपालिकासँग छलफल गरेर काम अगाडि बढाउछु ।” बाँदरकै कारण बसाइँ सर्दा दिनानुदिन खेतीयोग्य जमीन बाजिँदै गएको पनि छ ।