पत्रकार महासंघ रुपन्देहीले गर्यो स्व. पत्रकार चौधरीको परिवारलाई आर्थिक सहयोग

प्रकाशित मिति:

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । चौधरीको रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित निवासमा पुुगेर महासंघको टोलीले सात्वना दिदै काजकिरियाका लागि २५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो । कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो ।

महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट प्रदान गरिएको उक्त सहयोग महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष पोखरेलले पत्रकार चौधरीको उपचारमा महासंघको तर्फबाट हर प्रयास गरिएको र अस्पताल तथा चिकित्सक स्वास्थ्यकर्मीले पनि उच्च प्राथमिकता दिएर उपचार गरेपति बचाउन नसकिएको बताउँदै परिवारलाई समवेदना व्यक्त गरे ।

पत्रकार महासंघ रुपन्देहीले संस्थागत रुपमा स्व. चौधरीको उपचारका लागि अस्पताल, चिकित्सकसँग आवश्यक समन्वय तथा सहयोग गरेको थियो । भेटघाट तथा सहयोग हस्तान्तरणमा उपाध्यक्ष विश्वास ढकाल, महिला उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात तथा कार्यसमिति सदस्यहरुहरु मोहन न्यौपाने, प्रकाश पाण्डे र कमला पाण्डेको उपस्थिती थियो ।