कोराना रोकथाममा नेपाललाई सहयोग गर्न भर्जिनियाका सिनेटरहरूसित नेपाली प्रतिनिधिहरूको अनुरोध

प्रकाशित मिति:

नेपालमा बढिरहेको कोरोना भाइरसको प्रकोपलाई न्यूनीकरण गर्न अमेरिकाबाट विभिन्न चरणमा पहल भइरहेको समाचार बाहिर आएको छ । यसै सन्दर्भमा प्रवासी नेपालीहरूको एक प्रतिनिधि मण्डलले भर्जिनियाका सिनेटरहरूलाई भेटेर नेपालमा फैलिएको कोरोना भाइरसको महामारीको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । सिनेटरहरूसितको भेटमा नेपाली प्रतिनिधिहरुले नेपाललाई तत्काल अमेरिकी सरकारको सहयोगको आवश्यकता परेको जानकारी गराउँदै तत्काल कम्तीमा २० लाख खोप नेपाल पठाउन अमेरिकी सरकारले पहल गर्न अनुरोध गरेका छन् । मे २१ विहान सिनेटर टिम केनसित जुमका माध्यमबाट भएको भेटमा अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडा, सामाजिक अभियन्ताहरु क्रमस हरि शर्मा, मधु पन्थी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, ददिराम ढुङ्गाना, प्रभा भट्टराई देउजा, डा.श्याम कार्की, राम मिश्र लगायतका नेपाली प्रतिनिधिहरुको उपस्थिति थियो ।

मे २१ दिउँसो नेपाली प्रतिनिधिहरूले अर्का सिनेटर मार्क वार्नरसँग लाउडन काउन्टी कार्यालयमा स्थलगत भेट गरी नेपालको अवस्था र अर्का सिनेटर टिम केनसित भएको भेटको उपलब्धिबारे जानकारी गराउँदै नेपालमा भयावह रुपमा फैलिरहेको कोरोनाको महामारीलाई रोक्नका लागि अमेरिकी सरकारको पहलका लागि आवाज पुर्याइ दिन अनुरोध गरेका छन् ।

उक्त भेटघाट उत्तर अमेरिका कै सबै भन्दा पुरानो नेपालीहरूको संस्था अमेरिका नेपाल सोसाइटीकी वर्तमान अध्यक्ष प्रभा भट्टराई देउजाले सिनेटर मार्क वार्नरलाई लिखित पत्र समेत हस्तान्तरण गरेकी थिइन् । सो भेटमा मार्क वार्नर र लाउडन काउन्टिका चेयर फिलिस र्यान्डल, लाउडन काउन्टी कमनवेल्थका एटर्नी जनरल बुटा बिबेराज, हाउस अफ डेलिगेट्स(सभासद) सुहास सुब्रमन्यम लगायतका प्रतिनिधिहरु नेपाली प्रतिनिधिहरुसितको भेटमा उपस्थित थिए । सो भेटमा नेपाली प्रतिनिधिहरू मधु पन्थी, हरि शर्मा र प्रभा देउजा, मोहन निरौला र विमला निरौलाको उपस्थिति थियो ।