निषेधाज्ञालाई कडा बनाउन गृहको निर्देशन, देशभरका सीडीओलाई सर्कुलर

प्रकाशित मिति:

जारी निषेधाज्ञाका बीच पनि कोरोना संक्रमण दर घट्न नसकेपछि गृह मन्त्रालयले थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । शनिबार गृह मन्त्रालयले निषेधाज्ञा कडा बनाउन भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर जारी गरेको छ । निषेधाज्ञाका बीच पनि आवागमन नरोकिएको भन्दै कडा बनाउन भनिएको छ भने हिँडडुुलमा थप कडाइ गर्न भनिएको छ ।

मन्त्रालयले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग समेत छलफल गरेको थियो । छलफलपछि गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कडा बनाउनुपर्ने अवस्था आएकाले सोही अनुसार गर्न निर्देशन दिएका थिए ।

गृहप्रवक्ता जनकराज दाहालले निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन दिइएको बताउँदै यसबारे हालैका दिनमा भएका कामकारबाहीबारे समीक्षा समेत भएको थियो ।