संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका १४९ सांसदद्वारा सर्वोच्चमा सामूहिक रिट दिने तयारी

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनका एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । नयाँ सरकार बन्ने विकल्प हुँदा हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई चुनावमा धकेल्ने वातावरण खडा गरेको निष्कर्ष निकाल्दै विपक्षी गठबन्धनका ५ दल सम्भवत् आजै सर्वोच्च जाने तयारीमा लागेका हुन् । स्रोतका अनुसार सांसदहरूलाई आज अपरान्ह नागरिकता लिएर भेला हुन भनिएको छ।

शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सत्तारुढ एमालेकै माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जबरजस्त मुलुकलाई चुनावमा पुर्‍याएको भन्दै कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय पनि गरिसकेको छ ।