गल्याङका ग्रामिण क्षेत्रमा आवश्यकताको आधारमा सार्बजनिक आइसोलेसन निर्माण हुने

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको ग्रामिण क्षेत्रमा आवश्यकताको आधारमा सार्बजनिक आइसोलेसन निर्माण हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबै वडाहरुमा आइसोलेसन निर्माणका लागि पत्र पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरुमा रहेका अस्पताल आउन नचाहने कोरोना प्रभावित विरामीहरुका लागि ग्रामिण क्षेत्रमा नै आइसोलेसन निर्माण गर्नु उपयुक्त हुने भएकाले सम्बन्धित ठाउँमा नै आइसोलेसन निर्माण गर्ने तय भएको बताउनुभयो ।अब सम्बन्धित वडाध्यक्षहरुले कोरोना प्रभावितहरुका लागि नजिकका सार्बजनिक स्थललाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्न सक्ने भएका छन् । कोरोना प्रभावित विरामीहरुबाट अन्य विरामीमा रोगको संक्रमण फैलन नदिन यस्तो उपाय अपनाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ ।

उहाँले भन्नुभयो –‘ग्रामिण क्षेत्रमा रहेका विरामीहरुलाई नियमित उपचारका लागि स्वास्थ्यकर्मीको निगरानी राखिनेछ ।’ थप समस्या आएमा नगर अस्पताल वा अन्य ठाउँमा समेत उपचारको प्रबन्ध गरिने शर्माले बताउनुभयो ।यस्तै ग्रामिण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्रहरुमा आएका विरामीको चापलाई हेरी थप रोगको रोकथामका लागि पनि पहल गरिने भएको छ ।दैनिक रुपमा स्वास्थ्य चौकीमा आएका विरामीहरुको तथ्याङ्क नगरपालिकामा पेश गर्ने र बढि प्रभावित रहेका क्षेत्रमा शिल गरी उपचारको प्रबन्ध मिलाउन यस्तो व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।उहाँले सम्बन्धित क्षेत्रमा आएका विरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य टिमलाई २४ सै घण्टा निगरानीमा राखिएको बताउनुभयो ।नगरपालिकाबाट उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गरी जोखिम कम गर्नलाई विभिन्न उपायहरु अपनाइएको भन्दै शर्माले रोग नलुकाउन र जानकारी गराई उपचारमा लाग्न आग्रह समेत गर्नुभयो ।