गल्याङमा कोभिड प्रभावितहरुका लागि जनसम्पर्क डेस्कको स्थापना

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाका कोरोना भाइरस कोभिड १९ विरामीका लागि सम्पर्क गर्न विशेष संयन्त्र निर्माण गरिएको छ ।तोकिएको समयमा एम्बुलेन्स सहितका व्यवस्थामा थप प्रभावकारिता ल्याउन समिति जनसम्पर्क संयन्त्र गठन गरिएको हो ।गल्याङ नगरपालिका नगरप्रमुखको कार्यकक्षमा आइतबार बसेको बैठकले जनसम्पर्क संयन्त्र बनाउने निर्णण गरेको हो ।कोरोना प्रभावित विरामीहरुको उपचारको लागि गल्याङ नगर अस्पतालमा व्यवस्थापन भैरहे पनि जटिल प्रकारका विरामीहरुको लागि अन्य अस्पतालमा रिफर गर्ने क्रममा सहजताका लागि जनसम्पर्क संयन्त्र निर्माण गरिएको हो ।

नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) का विरामी वा विरामीका आफन्तले वडा अध्यक्ष, स्वास्थ्य शाखा लगायतमा सम्पर्क गर्ने गरेको भएपनि अझै सहजताका लागि जनसम्पर्क संयन्त्र नै निर्माण गरिएको नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।उहाँका अनुसार जनसम्पर्क संयन्त्रमा गल्याङ नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिंजाली, नगरप्रमुखका स्वकीय सचिव दिपक अधिकारी र नगरपालिका प्रेस संयोजक केपी खनाल रहनुभएको छ ।उहाँहरुलाई २४ सै घण्टा जनसम्पर्कमा रहन र नगरवासीहरुमा कोरोना रोगसँग समस्या परेमा सम्पर्क गरी समाधान गर्ने जिम्मेवारी दिइएको छ ।जनसम्पर्क संयन्त्र मार्फत सम्पर्कमा आएका विरामीहरुका लागि समाधान गर्न नसकेमा नगरप्रमुखलाई सम्पर्क गर्ने र पोखरा सहितका अस्पतालमा सम्पर्कमा गरिने भएको छ ।एम्बुलेन्सको समस्या भएमा वा अन्य कुनै पनि समस्याको समाधान गरी नगरवासीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न प्रतिबद्व रहेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले नगर अस्पतालमा उपचार हुन नसकेका विरामीहरुलाई पोखरासम्म लैजाने र अक्सिजन सहित बेड खोज्ने सम्पूर्ण जिम्मा नगरपालिकाले लिएको बताउनुभयो । साथै ग्रामिण क्षेत्रमा रहेका विरामीहरुलाई उपचारका लागि अस्पताल सम्म आउन जुनसुकै बेला एम्बुलेन्सको व्यवस्था भएकोले संयन्त्रमा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न पनि उहाँले आह्वान गर्नुभएको छ । हाल गल्याङ नगरपालिकामा कोरोना संक्रमितको दर घट्दै गएको भए पनि रोकथामका लागि अझै पहल गर्नुपर्ने तय भएको छ ।नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली काङ्ग्रेस गल्याङ नगर सभापति श्यामप्रसाद बस्याल, वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराई समेत सहभागी रहेको बैठकले कोरोना न्यूनीकरणका लागि आवश्यकता अनुसार थप पहल गर्ने तय भएको छ ।