प्रतिनिधिसभा विघटन हुनुमा सत्तारुढ दल र प्रमुख विपक्षी दुवै कारक : राप्रपा

प्रकाशित मिति:

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रोपटक प्रतिनिधिसभा विघटन हुनुमा सत्तारुढ दलको आन्तरिक विवाद र प्रमुख विपक्षी दलको अकर्मण्यता कारक रहेको बताएको छ ।विगत केही वर्षयताका घटनाक्रमहरूको कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि नै बारम्बार गम्भीर प्रश्नचिह्न खडा भएको सो पार्टीको ठहर छ ।

राप्रापाले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिले देशमा जुन परिस्थितिको विकास भएको छ, त्यसको मूल जरो कथित बाह्रबुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दू राष्ट्र र राजसंस्थालाई षड्यन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनताप्रतिको उपेक्षा हो ।’नेपाली जनताको अभिमत र शक्तिबाट उपरोक्त कमजोरी र विकृतिको समाधान खोज्न सकिन्छ भन्ने विश्वासका कारण राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको, तर यस सन्दर्भमा संविधान, विधि र कानुनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा राप्रपाले जोड दिएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा देशलाई चुनावमा धकेलिएको भन्दै सो पार्टीले यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको जनाएको छ । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने राप्रपाको ठहर छ ।सो पार्टीले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेर कोरोना महामारी नियन्त्रण गर्न र आमनागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको छ ।चुनाव हुने वैधानिक र व्यावहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिका आधारमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।