भीम अस्पताललाई मायादेवी च्यारिटेबल फाउण्डेशनद्धारा आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति:

उर्मिला यादव यात्री- सामाजिक क्षेत्रमा क्रियासिल मायादेवी च्यारिटेबल फाउण्डेशनले आज रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । फाउण्डेशनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि एकाउन्न हजार रुपैया, चालिस थान मेडिकल बेडसिट र ३० थान बिरामीको लागि मेडिकल गाउन गरी ५४ हजार ४ सय ६० रुपैयाँ बराबरको सहयोग गरेको जनाएको छ ।

भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताउनु भएको छ । उहाले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई थप सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ । फाउण्डेशनका अध्यक्ष रौनियारले आज ५१ हजार रुपैयाँको चेक र मेडिकल सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। शकुन्तला गुप्तालाई हस्तान्तरण गर्नु भएको छ ।

चेक तथा स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले कोरोना महामारीको समयमा मायादेवी च्यारिटेबल फाउण्डेशनले गरेको सहयोगले अस्पताललाई ठुलो सहयोग भएको बताउनु भएको छ । आर्थिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भीम अस्पतालका कोभिड फोकल पर्सन डा। आरिफ हुसेन, मायादेवी च्यारिटेबल फाउण्डेशनका सल्लाहकार बिरेन्द्र ज्ञवालि, सदस्य बिनोद रौनियार, जुबैर खान लगायतको सहभागिता रहेको थियो ।