पहिले ओली भन्थे : नागरिकता बोर्डरमा बसेर बाँड्ने चकलेट होइन

प्रकाशित मिति:

विक्रम खड्का  ।  तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान चलेको थियो , २९ फागुन, २०७३ – अनि रुपन्देहीको भैरहवामा विशाल आमसभा चल्यो । संविधानको रक्षार्थ’ निम्ति ‘राष्ट्रवादी सभा’ भनिएको थियो । जहाँ त्यो भेगका नागरिकहरूको ठूलो सहभागिता थियो । झापाबाट फागुन २१ मा सुरु भएको अभियान भैरहवामा २९ गते आइपुग्दा उपस्थिति थेगिनसक्नुकै थियो । १५ दिने उक्त अभियान झापाको काकडभिट्टाबाट सुरु भई कञ्चनपुर हुँदै चैत ५ मा सुर्खेतमा सकिएको थियो ।

भैरहवा सभामा तत्कालीन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भाषण सुनेका त्यतिबेला लुम्बिनी अञ्चलका एमाले शुभेच्छुक मात्रै होइन मञ्चमा आसिन त्यतिबेलाका नेताहरू यतिबेला बडो अप्ठयारोमा परेका छन् । ओलीको त्यो भाषण र हिजो जारी भएको नागरिकता सम्बन्धी अध्यादेशले लुम्बिनीका एमाले नेताहरू यतिबेला नाजवाफ भएका छन् । एमालेले मेची–महाकाली अभियान चलाइरहँदा मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने, नागरिकता जन्मसिद्धको आधारमा पाउनुपर्ने लगायतका मागसहित तराईमा आन्दोलन चर्काइरहेको थियो । त्यही मेची–महाकाली अभियानका क्रममा सप्तरीमा ठूलो झडप समेत भएको थियो । उक्त झडपमा परी पाँच जनाको ज्यान समेत गयो । सप्तरीको मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा फागुन २३ मा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको हो । मृतकका परिवारलाई तत्कालीन सरकारले १० लाख रकम राहत स्वरुप दिएको थियो ।

त्यतिबेला मधेसी जनताले संविधान संशोधन र नागरिकता विधेयक संशोधनको माग गर्दा एमाले पंक्ति यति उग्र रुपमा प्रस्तुत भएको थियो कि सप्तरीमा अनाहकमा ५ जनाको ज्यान गुमाउनुपर्‍यो । ओलीले भैरहवाको आमसभामा भनेका थिए, ‘नेकपा एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैन । संविधान संशोधनको यो प्रस्तावले पहाड–तराइलाई अलग गराउँछ । यसले नेपालको भौगोलिक अखण्डता कमजोर बनाउँछ । यसैले यो कुनै पनि हालतमा सफल हुन दिदैंनौं ।’अनि उनका भनाइ थिए, ‘नागरिकताको सवाल, नागरिकता नेपालीले पाउनुपर्छ । उहिले उहिले रानिको जन्म दिनमा केटाकेटीलाई चकलेट बाँडिन्थ्यो, नागरिकता चकलेट होइन बोर्डरमा बसेर आउने जतिलाई दिदैं जाने ।’ ओलीको भाषणबाट तालीको पर्रा छुट्यो । ओलीले थपे, ‘वैवाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन । हामी आउने बित्तिकै दिन्छौं । मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको रडाको के मा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ वर्ष किन पर्खिने बिहे गरेको भोलिपल्ट मन्त्री हुन पाउनुपर्छ ।’

ओलीले ‘नेपालमा जस्तो नागरिकता प्राप्ति सहज ढंगले वितरण गरेको अन्य देशमा नभएको’ धारणा राखेका थिए । उनले भने, ‘तर नेपालमा चाहिँ हामीले आइपुग्ने बित्तिकै आउनेलाई नागरिकता त दिएका छौँ, तर आउँदा बित्तिकै सांसद, मन्त्री बनाउन सक्दैनौं ।’उनले नागरिकता जथाभावी बाड्दा सिद्धार्थनगर भैरहवा जस्ता सीमावर्ती गाउँ सहरमा भोलि नेता पनि सीमापारीकै र मतादाता पनि उतैको हुने भन्दै चिन्ता समेत व्यक्त गरेका थिए । उनले भने, ‘अब सिद्धार्थनगर पालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ, हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ । अनि त्यो केटालाई सांसद उठाइन्छ । पारिकै मान्छेहरू आएर मतदान गर्छन् । अनि त्यो सांसद हुन्छ, त्यो मन्त्री पनि बन्छ । के यहाँ कोही नेपाली योग्य छैनन ? हामी यो किमार्थ हुन दिँदैनौं ।’

यसरी नागरिकता सवालमा यति उग्र ओली करिब पाँच वर्षपछि ‘सत्ता वार्गेनिङ’को औजारमा परिणत गरी ‘द्वैध चरित्र’ गरेका छन् । संसदमा विचाराधीन नागरिकता विधेयक अलपत्र पार्दै अध्यादेश जारी गरेका छन् । उनैका भैरहवाका कार्यकर्ताहरू भन्छन्, ‘हिजोका ओली र आजका ओलीमा आकाश–जमिन फरक भएको छ ।’त्यतिवेला भैरहवा कार्यक्रमका युवा जनपरिचालन समितिका संयोजक एमालेका युवा नेता राजु गुरुङ प्रधानमन्त्री केपी ओलीको त्यतिवेलाको ‘राष्ट्रवाद’ यतिखेरको नागरिकता अध्यादेशसम्म आइपुग्दा ‘नक्कली राष्ट्रवाद’ भएको पुष्टि भएको बताउछन् । उनले भने, ‘ओलीको त्यो भाषणले हामी निकै उत्साहित भएका थियौं । तर हामी भ्रममा रहेछौं । ओलीको त्यो भाषण त नक्कली राष्ट्रवाद रहेछ ।’ उनले थप्छन्, ‘त्यतिबेलाको भाषण त हात्तीको देखाउने दंत जस्तै रहेछ, एउटा देखाउने र अर्कैले चपाउने ।’उनी सत्तामा टिकिरहन राष्ट्रलाई घात गर्न नहुने बताउँछन् । भन्छन्, ‘सत्ता आउने/जाने भइरहन्छ, तर राष्ट्र र जनतामाथि गरिएको गद्दारी क्षमालायक हुँदैन ।’

राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम नागरिकता अध्यादेश कुर्सी जोगाउने अस्त्रका रुपमा आएको बताउँछन् । उनी भन्छन्, ‘देशका नागरिकहरुलाई नागरिकता दिने कुरा कानुनभित्र रहेर दिनुपर्छ । तर गैरनागरिकहरूलाई नागरिकता दिन खोजेर ओलीले देशमाथि गद्दारी गरेका छन् ।’नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य श्रीराम यादव पार्टी अध्यक्ष केपी ओलीले आफ्नो स्वार्थपूर्तिका लागि जनघाती काम गरेको धारणा व्यक्त गरे । उनले ३ वर्षसम्म सरकार चलाउँदा संसदबाटै यो विधेयक पारित नगरी आफ्नो स्वार्थका लागि अध्यादेशवाट जारी आफ्नो चरित्र प्रर्दशन गरेको बताए । उनले थपे, ‘म त भन्छु, अब केपी कमरेडले अंगीकृतलाई सिँधै राष्ट्रपति बनाउने वाटो पनि खोली दिन्छन् ।’ यतिखेर रुपन्देहीमा ओलीको त्यो पुरानो भाषण ‘भाइरल’ छ । ओलीको भाषण र फट्याइँ व्यवहार खुबै दाजिँदैछ । ‘हिजो बोर्डरमा बसेर चकलेट झै बाढ्न सकिन्न’ भन्ने ओली सत्तासँगै बदलिएकोमा नागरिक अगुवा पदमबहादुर कार्की आश्चर्यचकित छन् । कार्की भन्छन्, ‘अब ओली आफैँ सीमामा बसेर चकलेट झैँ नागरिकता बाँढ्ने भएछन् ।’