गोप्य मतदानमाथि प्रश्न उठाउनु कानुनविपरीत भएको नेपाल समूहको जिकिर

प्रकाशित मिति:

हेटौंडा, जेठ १४ : एमाले वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरूले राष्ट्रियसभा उपनिर्वाचनमा कसलाई मत दिएको भनी पार्टीले प्रश्न उठाउनु कानुनविपरीत भएको बताएका छन्।एमाले बागमती प्रदेश संसदीय दलको शुक्रबार काठमाडौंमा बसेको बैठकमा बोल्दै नेपालनिकट प्रदेश सांसदहरूले गोप्य मतदानबारे प्रश्न उठाउनु उचित नभएको तर्क गरेका छन्।

जेठ ६ गते सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग एमालेतर्फका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएका थिए। त्यसपछि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेसहितका १४ सांसदलाई स्पष्टीकरण सोधेका थिए।बागमतीका प्रदेशसभा र स्थानीय तहमा एमालेको बहुमत भए पनि माओवादी त्यागेर एमालेमा गएका बादल पराजित भए। डा. देवकोटालाई एमाले नेपाल समूहले समर्थन गरेको थियो।

प्रदेशसभा संसदीय दलको बैठकमा बोल्दै नेपाल समूह का सांसदहरूले मुख्यमन्त्री पौडेलले नै देवकोटालाई मत दिएको हुन सक्ने बताएका थिए। खिमलाल देवकोटाको मुख्यमन्त्रीसँग सबभन्दा राम्रो सम्बन्ध भएको र मुख्यमन्त्रीले प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएको भन्दै गोप्य मतदानमा आशंका गर्नु र स्पष्टीकरण गलत भएको तर्क नेपाल समूहका सांसदले गरेको जनाइएको छ। बजेटमा सहयोग चाहिने हो भने सोधिएको स्पष्टीकरण फिर्ता हुनुपर्ने अडान नेपाल समूहका सांसदहरूले राखेका छन्।