स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य

प्रकाशित मिति:

काठमाडौँ- सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य ठहयाएको हो ।नेपालका दुई तथा विदेशी दुई गरी चारजनाको टोलीले उक्त गन्तव्यको आरोहण र अध्धयन गर्न निस्केको थियो ।

गत मे ६ तारिखमा दुई विदेशीले मेरापिकको टुप्पोमा पुगेर मेरापिकदेखि स्की खेल्दै करीब आधा घण्टामा आधार शिविर भरेका थिए । नेदरल्यान्डका ३५ वर्षीय मथिज लियोनार्द बनार्ड र ४० वर्षीय डाइड्रिक भान रिजिनले मेरापिक आरोहण गरेका हुन् ।स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानले स्नो गाइड नेपाल ट्रेक्स एन्ड एक्पिडिशनसँगको सहकार्यमा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त कार्यमा स्थानीय रिफ्युजी मेरा होटेलले सहयोग गरेको थियो । प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले मेरापिक हिमालमा स्की माउन्टेनरिङ खेलका लागि प्रशिक्षण सञ्चालनका लागि अध्ययन गरिएको र मेरापिक उपयुक्त गन्तव्य रहेको जानकारी दिनुभयो ।