सेयर बजारले रच्यो नयाँ इतिहास , १७ अर्बको कारोबार

प्रकाशित मिति:

काठमाडौं : सेयर बजारले आइतबार अर्को कीर्तिमान कायम गरेको छ् । सेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो । खरिदबिक्री रकम १७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कारोबार भोल्यूम निरन्तर उच्च हुनुले बजारमा आम लगानीकर्ताको निकै आकर्षण रहेको अनुमान लगाउन सकिन्छ । नेप्से सूचक पनि दोहोरो अंकले वृद्धि भएको छ । विकास बैंक तथा फाइनान्स समूहमा विशेष तेजी देखिएको छ । वाणिज्य बैंक समूह पनि सकारात्मक भएको छ । स्वदेश तथा विदेशबाट सेयर बजारमा लगानीकर्ता आकर्षित भइरहेका छन् । अनलाइन प्रणालीका कारण खरिदबिक्रीमा यस्तो माहोल आउन सम्भव भएको हो । किन भने देशभरका मात्र नभई विदेशमा रहेका नेपालीले समेत सजिलै सेयर खरिदबिक्री गरी ब्रोकरलाई पैसा पठाउन सक्ने सुविधा उपलब्ध छ ।

प्रविधिमा भएको यही विकास र विस्तारको फाइदा आम लगानीकर्ताले पाएका हुन् । खरिदबिक्री रकममा अत्याधिक वृद्धि हुनुमा प्रविधिलाई एउटा प्रमुख कारणका रुपमा लिइएको छ । तथापि, अझै पनि प्रविधिमा थुप्रै समस्या रहेका छन् । यसलाई सुधार गर्नुपर्ने टड्कारो आवश्यकता पनि उत्तिकै रहेको छ । बजेटपछि बजार कता जाला भन्ने सर्वत्र चासो रहेको थियो । किन भने बजेटमा पुँजीगत लाभकरबारे दुई वटा व्यवस्था गरिएको छ । बजेटले अल्पकालीन र दीर्घकालीन गरी लगानीकर्तालाई दुई भागमा विभाजन गरेको छ । सोही अनुसार लाभकर पनि फरकफरक गरिएको छ । यो व्यवस्था साउनदेखि लागू हुनेछ । यस सम्बन्धमा लगानीकर्ताहरुको फरकफरक बुझाई र धारणा रहेकाले बजारलाई कुन सेन्टिमेन्टले जित्ने हो भन्ने आमचासो बनेको थियो । तर आम लगानीकर्ताको यो चासो र चिन्तालाई बजारले सकारात्मक गतिमा रुपान्तरित गरिदिएको छ । हाम्रो बजार समग्रमा बुल रनमा रहेको छ । दिनहुँ नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरिरहेका छन् । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फै आकर्षित भएका हुन् । बजार बढ्दा होस् वा घट्दा आम लगानीकर्ताले जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ ।

सम्बद्ध कम्पनीको नाफा, लाभांश वितरण क्षमता, ब्यवसाय विस्तारको सम्भावना लगायतका महत्वपूर्ण पक्षलाई ख्याल गर्न कहिल्यै पनि बिर्सिनु हुँदैन । आफूले खोजेको मुनाफा प्रतिशत, जोखिम बहन क्षमता र लगानी गर्न सक्ने समय अवधिका बारेमा पनि अग्रीम योजना बनाउन सके अझ बढी उपयोगी हुन सक्छ । खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर ४७ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः अरुण काबेली र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् । १७ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेप्से सूचक १२.५४ अंकले बढेर २८२७.९३ विन्दुमा आइपुगेको छ ।