प्रधानमन्त्री ओलीविरुद्ध शेरबहादुर देउवा आक्रामक, आवश्यक परे सडक संघर्ष नै गर्ने !

प्रकाशित मिति:

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष, एमालेबाट निश्काषित माधव कुमार नेपाल पक्ष र जनमोर्चाको विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने तयारीमा जुटेको छ ।

आज बसेको विपक्षी गठबन्धनमा नेताहरुले ओली सरकारले एकपछि अर्को गरेर संविधानमाथि घात गरेको र यसको मर्म र भावना कुल्चिएको निश्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काषित नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ती जारी गरेर असंवैधानिक कामको आलोचना गरेका छन् उनीहरुले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी समेत दिएका छन् । आजको बैठकमा ओलीप्रति सबैभन्दा बढि आक्रामक रुपमा देउवा खनिएका थिए । उनले अदालतले संसद् पूनःस्थापना गर्ने विश्वास दिलाएका थिए । तर, ओली सरकारले गरेका असंवैधानिक निर्णय र गतिविधि अब सह्य नहुने भन्दै आवश्यक परे कडा संघर्षमा उत्रिनुपर्ने पनि देउवाको भनाई थियो ।

यसअघिको विपक्षी गठबन्धनको बैठकमा देउवा ओलीसँग नरम रुपमा प्रस्तुत हुँदै आएका थिए । उपेन्द्र यादवले सरकारविरुद्ध कडा खालको संघर्ष गर्नुपर्ने आवश्यक औंल्याएका थिए । यादवको प्रस्तावमा माधव नेपाल र प्रचण्ड दुवै सहमत थिए । तर, देउवाले कोरोना महामारीका कारण तत्काल सडकमा जाँदा नराम्रो सन्देश जाने धारणा राखेका थिए ।बरु, मिडियामार्फत, सामाजिक सञ्जालबाटै सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने धारणा राखेका थिए । पछिल्ला दिनमा ओलीसँग सबैभन्दा बढि असन्तुष्ट र आक्रोशित देउवा बनेका छन् । उनले प्रतिनिधिसभाका बहुमत सांसदले आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको सशिर सदस्य सर्वोच्च अदालतमा उपस्थित् भएको भन्दै अदालतबाट आफूहरुअनुकुल निर्णय आउने विश्वास लिएका छन् ।प्रधानमन्त्री ओलीले पुष ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा सभापति देउवा मौन थिए । उनले ओलीको निर्णयविरुद्ध तत्काल पार्टीलाई सडकमा उतार्ने प्रयास गरेनन् । बरु, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेललगायतका युवा नेताहरु पनि कांग्रेस संसद् विघटनको कदमविरुद्ध सडक संघर्षमा जानुपर्ने अडान लिएका थिए ।तर, देउवाले त्यतिवेला कांग्रेसले प्रजातान्त्रिक पार्टी भएकोले अदालतको फैसला पर्खनुपर्ने भन्ने धारणा राखेका थिए । कतिपयले देउवाले त्यतिवेला प्रधानमन्त्री ओलीसँग भित्री रुपमा साँठगाँठ गरेको पनि आरोप लगाएका थिए । तर, ओलीले कांग्रेस चुनावबाट पनि नभाग्ने र अदालतको फैसला स्विकार्य हुने आफ्नो धारणा राखेका थिए । कतिपय संवैधानिक नियुक्तीमा समेत ओलीसँग देउवाले भागबण्डा मिलाएको आरोप लाग्ने गरेको थियो । तर, पछिल्लोपटक ओलीले संसद् विघटन गरेपछि सबैभन्दा बढि आक्रामक र असन्तुष्ट कांग्रेस देउवा नै देखिएका छन् ।

उनले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत एकपछि अर्को गरेर असंवैधानिक काम गरेको र मुलुकलाई अँध्यारो मार्गमा अघि बढाएको भन्दै विरोध गरेका छन् । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । देउवा संसद् पूनःस्थापना हुनेमा विश्वस्त छन् । यो सँगै उनले सरकारविरुद्ध विरोध तथा प्रदर्शन र आन्दोलन अघि बढाउनुपर्ने भन्दै यसको लागि तयार हुनुपर्ने आजको बैठकमा धारणा राखेका थिए । उनले आजको बैठकमा भनेका थिए, हामी विधि, कानूनी शासन र संविधानअनुसार चल्नुपर्छ । अहिलेको सरकार असंवैधानिक ढंगले अघि बढेको छ । यसलाई विस्थापित गर्नुपर्छ । आवश्यक परे सडक संघर्ष पनि गर्नुपर्छ । तपाईँहरु त्यही अनुसारको तयारी गर्नुहोस् ।