पालिकाका कर्मचारीहरुद्धारा कोभिडकोषमा ५ लाख ७९ हजार जम्मा

प्रकाशित मिति:

रोशन लामिछाने,स्याङजा, १६ जेष्ठ- पुतलीबजार नगरपालिकामा कार्यरत कर्मचारीहरुको संयुक्त बैठकले आफुले खाईपाई आएको पारिश्रमिकबाट ३ दिन बराबरकाको तलब पुतलीबजार नगरपालिकाको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कर्मचारीहरुले तिन दिनको तलबबाट हुन आउने रकम ५ लाख ७९ हजार १ सय ६ रुपैयाँ पालिकाको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । पालिकाको कोभिड कोषमा जम्मा हुने ५ लाख ७९ हजार १ सय ६ रुपैयाँले करेण्डाडा स्वास्थ्य चौकीमा अक्सिजन सहितको आईसुलेसन निर्माण गरिने पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो । उहाँले करेण्डाडा स्वास्थ्य चौकीमा थप ५ वटा बेड समेत थप गरिने जनाउदै बाँकी रहेको रकम पालिकाको कोभिड कोषमै रहने बताउनुभयो । पुतलीबजार नगरपालिकामा हाल पालिका, वडा कार्यालयहरु र स्वास्थ्यचौकीहरुमा गरी करिब १ सय ४० जना कर्मचारीहरु रहेको योजना अनुगमन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिकाको कोभिड कोषमा रकम जम्मा भैरहेको पालिकाले जानकारी दिएको छ । यस अघि जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको छिमेक लघुवित्त वित्तिय संस्थाले २९ हजार पालिकाको कोभिड कोषमा जम्मा गरेको पालिकाले जनाएको छ ।