वाइडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने संस्कृतिमन्त्री अधिकारीको उद्धघोष

प्रकाशित मिति:

काठमाण्डौ मंसिर १२/ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले आफूहरुले नेपालको हितमा र वायु सेवा निगमको हितमा काम गर्नको लागि निर्देशन दिएको जनाए । उनले भने,‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाईयो भने हामी शोधभर्ना गराउँछौं । सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं । सत्य, तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।’ यद्धपी उनले निगमलाई असफल पार्नको लागि प्रोपागाण्डा फैलाउने काम कसैबाट गर्न नहुनेपनि जिकिर गरे ।

उनले वाईडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको सुनाए । उनले भने,‘यो सरकार आएको एक दई महिनापछिमात्रै वाईडबडी आएको हो । त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालमा सिध्धिईसकेको थियो ।’ जहाज खरिदको सबै प्रक्रियामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहभागी भएको उनले स्पष्ट पारे । वाईडबडी आईसकेकोले अब यसलाई चलाउनुपर्ने उनको भनाई छ । तर, खरिद प्रकरणमा अनियमितता र गलत भएको पाईए कारबाही गर्ने अधिकारीले पूनः दोहोर्याए ।