सुदूरपश्चिमका ६ मन्त्रीसहित ७ जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा गएका ६ जना मन्त्रीसहित एक प्रदेशसभा सदस्यलाई कारबाहीको सिफारिस गरेको छ । एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधे पनि जवाफ नआएपछि सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई आवश्यक कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज र सचेतक दुर्गाकुमारी कामीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरेको प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए ।

गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकारबाट फिर्ता आउन मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।