नक्कली प्रहरी बनेर रकम असुली गरेको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति:

वीरगञ्ज– नक्कली प्रहरी बनेर रकम असुली गर्ने एक जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय सुशिल पटेल रहेका छन्।

पटेलले वडा नम्बर २ कै महादेवपटी टोलमा आफू प्रहरी कर्मचारी भएको भन्दै स्थानीयलाई धाकधम्की देखाइ रकम असुल्ने गरेको प्रहरीले जानकारी दिएको छ।

निषेधाज्ञाको समयमा नेपाल भारत सीमाबाट आवतजावत गराइदिने भनी स्थानीयवासीसँग उनले रकम असुल गरेका थिए।

नक्कली प्रहरी बनेर रकम असुलेको आरोपमा पटेललाई पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।