राष्ट्रिय सभामा विजयी पाण्डेले दिए मतदातालाई धन्यवाद

प्रकाशित मिति:

बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा विजयी दृगनारायण पाण्डेले मतदाता सहित सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् । निर्वाचनमा विजयी भएपछि एक विज्ञप्ति जारी गर्दै पाण्डेले आफूलाई मतदान गर्ने मतदाता, आफूलाई साझा उम्मेदवार बनाउने गठबन्धनमा आवद्ध दलहरु र तिनका नेता तथा निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, सुरक्षाकर्मी,सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद र आभार व्यक्त गरेका हुन् ।

‘मलाई राष्ट्रिय सभा सदस्य जस्तो गरिमामय पदमा उम्मेदवार बनाउने नेपाली कांग्रेस पार्टीलाई विशेष धन्यवाद दिन चाहन्छु, साथै मलाई विजयी बनाउन भूमिका खेल्ने नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा लगायत दल, तिनका नेता,प्रदेश सभा सदस्यहरु, गाउंपालिकाका अध्यक्ष,उपाध्यक्ष, नगरपालिका प्रमुख उपप्रमुख,कर्मचारी,सुरषाकर्मी,सञ्चारकर्मी सबैलाई धन्यवाद र आभार व्यक्त गर्दछु’–विज्ञप्तिमा उनले भनेका छन् । उनले अब राष्ट्रिय सभामा आफूले मतदाताको भावना अनुसार संविधान,लोकतन्त्र, कानूनी शासन, समानुपातिक समावेशिताको पक्षमा र जनताको हितमा आवाज उठाउने प्रतिवद्धता जनाए ।

कपिलवस्तु महाराजगन्जका पाण्डेले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका हुन् । पाण्डेले प्रदेशतर्फ ४२ र स्थानीय तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशतर्फ ४० र स्थानीय तर्फ ९४ जनाको मत पाएका थिए । विजयी पाण्डे हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । उनी २०७४ को चुनावमा कपिलवस्तु २ ९१० बाट प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।