मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटे

प्रकाशित मिति:

काठमाडौँ — अघिल्लो दिनको तुलनामा मंगलबार सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । सोमबार नेप्से करिब साढे ११ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ७१।१५ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा मंगलबारको परिसूचक ०।४२ प्रतिशतले कम हो । सोमबार नेप्से ४५ अंकले घटेको थियो ।यही जेठ १५ मा सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भोलिपल्ट उच्च अंकको वृद्धिसहित धेरै रकमको कारोबार भएको बजार त्यसपछि भने घट्दो क्रममा देखिएको छ । बढिरहेको बजारमा केही अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षण गर्न चाहेकाले सोमबार र मंगलबार बजार घटेको रुपमा विश्लेषण गरिएको छ । यी दुई दिनको गिरावटलाई विज्ञहरुले करेक्सनको संज्ञा दिएका छन् । बढिरहेको बजारमा करेक्न भएकाले आगामी दिनमा अझै बलियो बन्ने उनीहरुको दाबी छ ।

 

सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ । मंगलबार करिब साढे ९८ हजार कारोबारबाट २ सय १६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा मंगलबारको कारोबार रकम करिब ५ अर्ब रुपैयाँले बढी हो । सोमबार करिब डेढ लाख कारोबारबाट २ सय १८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा १३ अर्ब ९० करोड रुपैयाा बराबरको सेयर कारोबार भएको थियो ।परिसूचक घटेपछि सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि घटेर ३८ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ । सो दिन सेन्सेटिभ परिसूचक ०।७४ र फ्लोट परिसूचक ०।४७ प्रतिशतले ऋणात्मक रहे । मंगलबार कारोबारमा आएकामध्ये विकास बैंक, वित्त कम्पनी र ‘अन्य’ बाहेक सबै उपसमूहको परिसूचक घटेका छन् ।