ल्यान्डिङ बेरुजु बुझाउन हेलिकप्टर कम्पनीलाई निकुञ्जको ताकेता

प्रकाशित मिति:

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्यान्डिङ गरेबापत दुई आर्थिक वर्षदेखिको करिब सवा करोड बेरुजु तत्काल बुझाउन राष्ट्रिय निकुञ्जले ताकेता गरेको छ ।

आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ को रकम बेरुजु देखिएको भन्दै १५ दिनभित्र बुझाउन ११ वटा हेलिकप्टर कम्पनीलाई निकुञ्जले पत्राचार गरेको हो । निकुञ्ज क्षेत्रभित्र उडान भर्ने ११ कम्पनीलाई पत्र लेख्दै एक करोड २५ लाख ६४ हजार रुपियाँ बुझाउन भनिएको छ ।पटक पटक ताकेता गर्दा पनि राजश्व बुझाउन आनाकानी गरेको भन्दै निकुञ्जले कैलाश, डाइनेष्टि, सिम्रिक, माउन्टेन, अल्टिच्युट, एभरेष्ट, समिट, श्री हेलि, प्रभु, मनाङ र श्री एयरलाइन्सलाई कारबाहीको चेतावनी सहित पत्र काटेको हो ।सबैभन्दा बढी बेरुजु कैलाश एयरको ६६ लाख एक हजार रुपैयाँ देखिएको छ । कैलाशले आ।व। २०७५/७६ कै आठ लाख ६१ हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ । त्यस्तै, सिम्रिक एयरको एक लाख तीन हजार रुपैयाँ, एभरेष्ट हेलिकप्टरको १३ लाख ८६ हजार रुपैयाँ, माउन्टेनले सात लाख ४१ हजार रुपैयाँ र डाइनेष्टिले सात लाख २९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

अन्य कम्पनीहरूको भने चार लाख भन्दा कम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनुभयो ।यता हेलिकप्टर कम्पनीहरूले भने आफूहरूले पहिले नै राजश्व रकम बुझाए पनि निकुञ्जका कर्मचारीले सही तथ्याङ्क नराखेर पुनः पत्राचार गरेको बताएका छन् । प्रति ल्यान्डिङ तीन हजार रुपियाँका दरले प्रत्येक दिन राजश्व बुझाउने गरे पनि निकुञ्जले बेरुजुका नाममा पैसा असुल्ने काम गरेको सिम्रिक हेलिकप्टर लुक्लाका स्टेशन म्यानेजर टासी शेर्पाले बताउनुभयो ।आफूहरूले पहिल्यै राजश्व भुक्तानी गरिसकेकोले थप रकम नतिर्ने उनको भनाई छ । अन्य हेलिकप्टर कम्पनीहरूले पनि पहिल्यै राजश्व बुझाएको प्रतिक्रिया दिएका छन् ।