अस्पतालमा सेवाग्राही ठग्ने चार कर्मचारी निलम्बित

प्रकाशित मिति:

तनहुँ । अस्पतालमा आउने सेवाग्राहीसँग पीसीआर परीक्षणका लागि भन्दै अवैध रकम सङ्कलन गर्ने तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका चार कर्मचारीलाई निलम्बन गरिएको छ ।

कोभिडको लक्षण सहित अस्पताल पुगेका बिरामीहरूलाई अस्पतालसँग कुनै पनि स्वीकृत नलिई अवैध रुपमा जनही तीन हजार लिने सुधन पन्त सहित चार जनालाई अस्पतालले सोमबार निलम्बन गरेको हो । उक्त अवैध कार्यमा फार्मेसीमा कार्यरत पन्त सहित आनन्द प्रसाद ढुङ्गाना, विधान तिमिल्सेना र मदन श्रेष्ठ रहेका छन् ।सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै चार कर्मचारीलाई कारबाहीको प्रक्रिया सहित छानबिन सुरु गरिएको जनाइएको छ । छानबिनको टुङ्गोमा नपुगे सम्मका लागि उनीहरू निलम्बनमा परेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेवाग्राहीसँग सरकारले पीसीआर परीक्षणका लागि तोकेको रकम भन्दा बढी लिएर एक दिनमै नतिजा उपलब्ध गराउने भ्रम सिर्जना गरेका उनीहरुलाई सोमवार २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ ।अस्पतालले प्रदान गरेको सेवाको गुणस्तरमा कमी कमजोरी हुन नदिन प्रतिबद्धता जनाएको छ । सेवाको बारे कुनै जानकारी वा गुनासो गर्नुपरेमा अस्पताल प्रशासनमा सम्पर्क गर्न अस्पतालले अनुरोध समेत गरेको छ ।