ज्योतिषी र भविष्य दर्शनका नाममा हुने ठगी रोक्न जरुरी रहेको प्रो. डा. बलराम रेग्मीको जोड

प्रकाशित मिति:

नेपाल ज्योतिष पत्रकार महासंघका संस्थापक सभापति तथा वरिष्ठ ज्योतिष प्रोफेसर डा. बलराम उपाध्याय रेग्मीले ज्योतिषी र भविष्य दर्शनका नाममा ठगी हुने गरेको बताएका छन् । यस्ता ठगी र भ्रमलाई रोक्नका लागि पनि ज्योतिष सम्बन्धी आधारभूत ज्ञान सबैले लिन आवश्यक रहेको उनको भनाइ छ ।मेची–महाकाली ज्योतिष जागरण अभियान सुरु गर्न लागेका डा.उपाध्याय बुधबार बुटवल स्थित नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा यहाँका पत्रकारहरुसंग साक्षात्कार गरेका छन् । त्यस क्रममा उनले ज्योतिष क्षेत्रमा पछिल्लो समय विकृतिहरू पनि आएकाले यो विषयमा सबैले ज्ञान राख्न आवश्यक भएको बताए । ज्योतिषका नाममा सामान बेच्ने, चिना र जन्मकुण्डली बनाउने नाममा भ्रम सिर्जना गर्नेहरुले विज्ञ ज्योतिषहरु समेत मारमा पर्ने गरेको गुनासो गर्दै उहाँले कोर्ष नगरीकन र अध्यय्न नगरीकन कोही पनि ज्योतिष बन्नै नसक्ने बताए । विकृतिहरूको रोकथाम गर्ने र समाजलाई सही सन्देश दिने काम राष्ट्रका खास पत्रकारहरूको भएको उल्लेख गर्दै उनले ज्योतिष पत्रकारिताका कक्षा लिन पनि आग्रह गरे । उनले यो विषयमा देशभर हालसम्म ५ हजार जनालाई ज्योतिष अध्ययन गराइ दक्ष बनाएको र सबै व्यवसायिक रुपमा सक्रिय रहेको बताए ।

‘रूपन्देहीका पत्रकारहरूलाई पनि त्यो ज्ञान शेयर गरी दक्ष बनाउन यहाँ आएको हुँ’ उनले भने, हचुवाका भरमा समाचार नलेख्नुस, अशुद्ध र भ्रम सिर्जना हुने शब्द राखेर समाचार नलेख्नुस् ।’ उनले अनुमान गरेर होइन, यकिन नै गरेर समाचार लेख्न सक्ने बनाउने गरी आफुले प्रशिक्षण दिने बताए । रेग्मी एक हप्ता बुटवलमा बसेर चिना हेर्ने र यहाँका नागरिक अगुवाहरुका अवस्थाका बारेमा अध्यय्न गर्ने तयारीमा छन । राशिफल लेख्न, समाचारको भाषामा शुद्ध, उनले जन्मकुण्डली, ज्योतिष पत्रकारिकता, ज्योतिष विज्ञान सम्बन्धी कुरा कसरी जान्ने भन्ने विषयमा नेपाल पत्रकार महासंघ, रूपन्देहीको सहकार्यमा प्रशिक्षण दिने कार्यक्रम रहेको पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसीले बताए । पर्वत जिल्लाको साविकको उपल्लो पाङमा जन्मेका डा. उपाध्याय विगत ४५ वर्षदेखि ज्योतिष व्यवसायमा आवद्ध छन् । उहाँको परिवारै यो व्यवसायमा आवद्ध छ ।