एमालेले पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्ने

प्रकाशित मिति:

काठमाडौं- नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना गरेका छौँ’, बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको छ ।’

बैठकमा आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल भएको छ । बजेट अहिलेको आवश्यकतालाई पूर्ति गर्ने खालको आएको निष्कर्ष पार्टीले निकालेको छ । बजेटले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको विषयलाई सम्बोधन गरेकाले सकारात्मक रहेको समीक्षा भएको उनको भनाइ छ ।पार्टी एकताका निम्ति नेतृत्वले प्रयत्न गर्ने निर्णय गरेको बैठकले स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई के कारवाही गर्ने भन्ने बारेमा छलफल नगरेको ज्ञवालीको भनाइ छ ।अझै पार्टी एकताका निम्ति प्रयत्न जारी राख्ने निर्णय भएसँगै कारवाही गर्ने भनिएका नेताको विषयमा कुनै निर्णय नभएको हो ।

एमालेले घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडामाथि कारवाहीको तयारी गरेको थियो।यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । नेताहरुमाथिको कारवाहीलाई स्थगित गरेर पुन नेताहरुले एकताको प्रयास जारी राखेका छन्। गएराति मात्र एमाले दोस्रो पुस्ताका १० नेताले एकताको विषयमा गम्भीर छलफल गरेका थिए ।