बुटवलमा ५० शय्याको एडमण्ड सिटी अस्पताल सञ्चालन

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको बुटवल-१३, जितगढीमा एडमण्ड सिटी अस्पताल संचालनमा आएको छ । वि.सं. २०६७ सालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको सम्वन्धन स्वीकृति प्राप्त गरेको अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालले तत्कालै कोभिड संक्रमितका विरामीको उपचार गर्ने छ ।

करिव १ विगाहा क्षेत्रफल भित्र भेण्टिलेटर सहित ८ शय्याको आईसियू ७ शैयाको एचडियू तथा ३५ शय्याको कोभिड आइसोलेशन सहित ५० शय्याको अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।

उपकरण र स्वास्थ्य सामाग्री सहित ३ करोडको लगानीमा सुरु हुन लागेको अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेडिक २२ र अन्य कर्मचारी सहित १ सय ४० जना कार्यरत रहने उनले जानकारी दिए ।

कोभिडको संक्रमण दर केही कम भएपनि जोखिम कायमै रहेकाले अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । कोभिड महामारी अन्त्य भएमा सोही अस्पतलमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर,न्यूरो तथा क्यान्सर रोग उपचार गर्ने  योजना अस्पतालले बनाएको छ ।