रुपन्देहीको पत्रकारिता : एक विहङ्गम-दृष्टि

प्रकाशित मिति:
  • डा. बालकृष्ण चापागाईं ।

नेपाल पत्रकार महासंघ रूपन्देहीको म अध्यक्ष भएका बखत रूपन्देहीको पत्रकारिता इतिहासको यथासम्भव खोजी गरी वि.सं. २०५१ सालमा ‘रूपन्देहीको पत्रकारिता : एक दिग्दर्शन’ विशेषाङ्क प्रकाशित गरेका थियौं । त्यसयता झण्डै २८ वर्ष बितेछ । यस बीचमा रूपन्देहीको पत्रकारिताको यात्रा धेरै अगाडि बढीसकेको छ । त्यतिबेला जन्मेका शिशु अहिले योग्य नागरिक, राम्रो पहिचानसहितको प्रतिष्ठा कमाइसकेका प्रखर पत्रकारका रूपमा सुपरिचित भइसकेका छन् । त्यसैले रूपन्देहीको पत्रकारितालाई खण्ड–खण्ड रूपमा वर्गीकरण गरेर चर्चा र विवेचना गर्नु सान्दर्भिक हुन्छ ।

नेपालको पत्रकारितामा रूपन्देहीको गर्विलो इतिहास छ । त्यो इतिहासलाई खोज–अनुसन्धान गरी अगाडि ल्याउनु आवश्यक छ । यस विषयमा बुटवलमा रही लामो समय पत्रकारिता गरी अहिले काठमाडौं ललितपुरमा बसोबास गर्नु हुने वरिष्ठ पत्रकार वसन्तध्वज जोशीले रूपन्देहीको पत्रकारिता, लुम्बिनी अञ्चलको पत्रकारिता र पश्चिमाञ्चलको पत्रकारिताबारे खोज–अनुसन्धान गरी पुस्तिका प्रकाशनका साथै विभिन्न प्रकाशनहरूमार्फत अभिलेखीकरण गर्नु भएको छ । यस महत्वपूर्ण कार्य गर्नु हुने आदरणीय वरिष्ठ पत्रकार तत्कालीन एक्सरे साप्ताहिकका सम्पादक वसन्तध्वज जोशीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसै सन्दर्भमा रूपन्देहीको पत्रकारिताबारे बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हुमकुमारी पाण्डेले खोज गरी लेख्नु भएको एउटा लेख पनि थप अध्ययनका लागि सन्दर्भ सामग्री हुन सक्छ भन्ने मलाई लाग्दछ ।

यस सन्दर्भमा मैले आमसञ्चार तथा पत्रकारिता विषयमा एम.ए. (स्नातकोत्तर) को शोधको विषय ‘नेपाली पत्रकारितामा लुम्बिनीको योगदान’ लिई त्यसलाई विश्वविद्यालयको प्राज्ञिक अभिलेखको रूपमा प्रस्तुत गरेको कुरा पनि यस अवसरमा सहर्ष जानकारी गराउन चाहन्छु । त्यही शोधको आधारमा ‘लुम्बिनीको पत्रकारिता’ भन्ने पुस्तक प्रकाशन गरेको छु । यसबारे अध्ययन गर्न इच्छुक महानुभावहरूले पुस्तक खोज्नु भएमा उपलब्ध हुन सक्छ । यो अनुसन्धानमा आधारित पुस्तकलाई आधार र सन्दर्भ सामग्रीको रूपमा लिई जिल्ला–जिल्लामा पत्रकारिता सम्बन्धी थप प्राज्ञिक अनुसन्धान कार्य भैरहेका पनि छन् । यो खोज र अनुसन्धानको विषय सदैव जारी रहन्छ ।

रूपन्देहीको पत्रकारिताको चर्चा गर्दा २००७ साल अघिको पत्रकारितालाई विशेषतः राजनीतिक चेतनाको सञ्चार, साहित्यिक विधाको प्रयोगबाट गरिने सञ्चार, लिखित पत्र, पर्चा, पोष्टर, विज्ञप्तिजस्ता माध्यमको प्रयोगलाई आधारको रूपमा लिएको पाइन्छ । सूचना, समाचार र विचारहरू मोैखिक सञ्चारका रूपमा रहेको अवस्था देखिन्छ ।

२००७ सालको जनक्रान्ति पश्चात् खुलापनको उपयोग राजनीतिसंगै सञ्चारमा पनि देखा परेको पाइन्छ । २०१२ सालमा प्रकाशन भएको जेष्ठ पत्रकार सूर्यलालसहितका व्यक्तिहरूले ‘बुटवल साप्ताहिक’ प्रकाशन सुरु गरेपछि समयक्रममा विभिन्न प्रकाशनहरू हुन थालेको पाइन्छ । त्यसपछिका दिनहरूमा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई ९‘सुस्केरा’ साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक० सहितका तत्कालीन युवा जमातले मूलतः साहित्यिक पत्रकारिताका माध्यमबाट विशेष योगदान पु¥याउँदै आएको पाइन्छ ।

विशेषगरी २०१७ साल यता यस अघि चर्चा गरिएका व्यक्तित्वहरुसँगै पञ्चायतकालमा रूपन्देहीको पत्रकारितामा दैनिक निर्णय ९२०२२ यता० पत्रिकाको योगदान महत्वपूर्ण रहेको छ । यसका प्रकाशक/प्रबन्ध सम्पादक प्रतापकुमार भट्टचनको योगदानलाई सदैव स्मरण गर्नुपर्दछ । पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा लुम्बिनी अञ्चलमा सूर्यलाल पछि मोदनाथ प्रश्रित, करुणानिधि शर्मा, रामचन्द्र भट्टराई, अर्जुन ज्ञवाली, मदनलाल पौडेल, लालसिंह भण्डारी, पृथ्वी शेरचन, डा. वामदेव पहाडी, कपुर ज्ञवाली, कृष्णराज पाण्डे, बाबुराम अर्याल, बंूद राना, पशुपति बञ्जाडे, देवीप्रसाद पाण्डे, नारायणप्रसाद सापकोटा, दिलीप भट्टराई, कर्ण बहादुर कार्की (दैनिक लुम्बिनीका तत्कालीन सम्पादक), हरिप्रसाद ज्ञवाली एकराज पाण्डेय, हिमलाल ज्ञवाली, बाबुराम अधिकारी, रासस प्रतिनिधिहरू नारायण कार्की, सुरेन्द्र आचार्य, दिल साहनी, वसन्त पोखरेल, वद्रीनाथ पाण्डे, कृष्ण पोखरेल, गोविन्द वर्तमान र वि.सं. २०४५/०४६ को सेरोफेरोमा पं. बाबुराम भट्टराई, रामेश्वर भट्ट, नारायण पौडेल, डी। आर। घिमिरेलगायतको भूमिकालाई अध्ययनको विषय बनाउनुपर्दछ ।

त्यसयता २०४६/०४७ देखि यता विनोद पहाडी, धर्मराज अर्याल, हिमांसु चौधरी, माधव नेपाल, हरि लम्साल, सुमन अधिकारी, ऋषिराम भुसाल, गितु गिरी, लक्ष्मीनाथ ज्ञवाली ‘सुमेरु’, शशी पौडेल, तिलक आचार्य, छवि पाण्डे, रामप्रसाद खनाल, खिमानन्द भट्टराई, केशवराज खनाल, हरिष ढकाल, टीकाराम न्यौपाने, यमलाल भुसाल, दीपक ज्ञवाली, शेरबहादुर केसीलगायतले खेलेको भूमिका स्मरणीय रहेको छ ।

२०४५/०४६ को जनआन्दोलन पूर्व प्रकाशन सुरु भएको दैनिक लुम्बिनी, सिद्धार्थ दैनिक र २०४७ असार ९ बाट प्रकाशन   प्रारम्भ भएको दैनिक जनसंघर्ष, चौतारी दैनिक, देउराली दैनिक, नयाँ दिशा दैनिकलगायतका पत्रपत्रिकाहरुले पु¥याएको योगदान विशिष्ट छ । यसको छुट्टै चर्चा गरिनु आवश्यक देखिन्छ ।

२०३८ साउन १ गतेदेखी औपचारिक रूपमा भैरहवाबाट प्रकाशित दैनिक निर्णयबाट मैले पत्रकारिता सुरुवात गरेको हुँ । आजसम्म यही पेशामा समर्पित भएको पनि मेरा चिरपरिचितहरूमा सर्वविदितै छ । पञ्चायत ढल्नु अघि मेरो जानकारीमा अहिले आउन नसकेका र नाम छुटेका अन्य पत्रकारहरू पनि धेरे हुनुहुन्छ । उहाँहरूको खोजी हुनुपर्छ  ।
पञ्चायतकालमा रूपन्देहीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरूको योगदानको चर्चा र विवेचना नगरिएकोले यसबारे थप अनुसन्धानको खाँचो देख्छु । पत्रकारितामा संलग्न व्यक्ति र सञ्चारमाध्यमहरूले सञ्चार क्षेत्रमा पु¥याएको योगदानको चर्चा पृथक–पृथक हुनु आवश्यक देखिन्छ ।

रूपन्देहीको पत्रकारितामा संगठनात्मक रूपमा अगाडि बढाउनुमा विभिन्न व्यक्तिहरूको भूमिका महत्वपूर्ण छ । ‘रूपन्देहीको पत्रकारिताः एक दिग्दर्शन–२०५१’ मा पञ्चायतकालमा गठित नेपाल पत्रकार संघ रूपन्देहकिो पहिलो अध्यक्षमा करुणानिधि शर्मा, त्यसपछि क्रमशः रामचन्द्र भट्टराई र मदनलाल पौडेल जिल्ला अध्यक्ष हुनु भएको विवरण प्रस्तुत छ । यो विशेषाङ्क नेपाल पत्रकार महासंघ रूपन्देहीको म अध्यक्ष भएको बखत मेरो संयोजकत्वमा प्रकाशित भएको हो । नेपाल पत्रकार महासंघ रूपन्देहीको संस्थागत विकासका क्रममा वि।सं। २०४९ पौष १८ गते नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति गोविन्द वियोगीको प्रमुख आतिथ्यमा भएको प्रथम जिल्ला अधिवेशनले मेरो अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । त्यसयता तोकिएको समयमा जिल्ला अधिवेशनहरू हुँदै आएका छन् । त्यसयता २९ वर्ष भैसकेको छ । यस बीचमा पत्रकारिता क्षेत्रमा आएको अभूतपूर्व विकासको इतिहास पनि खोज अनुसन्धान गरी अभिलेखीकृत गर्नु आवश्यक छ ।

मदनलाल पौडेल जिल्ला अध्यक्ष रहनु भएको बेला म नै जिल्ला सचिव थिएं । यस बीचमा पञ्चायतकालमा नै नेपाल पत्रकार महासंघको लुम्बिनी अञ्चल कमिटी गठन भएको थियो ।
त्यो कमिटीको अध्यक्षमा बाबुराम अर्याल र कर्णबहादुर कार्की रहनु भयो । उहाँहरूको नेतृत्वको दुबै कमिटीको अञ्चल सचिव पनि म नै थिएं । यसबारे थप विवरण खोज्नु आवश्यक देखिन्छ । पञ्चायतकालमा बुटवलबाट सूर्य श्रेष्ठ आजाद र भैरहवामा तत्कालीन अवस्थामा युवा पत्रकारका रूपमा कार्यरत बुद्ध न्यौपानेलगायतका पत्रकारहरूको पनि योगदान छ । यसबारेमा पनि थप खोजी गर्नु आवश्यक छ । मैले माथि नाम लिएका अग्रज व्यक्तित्व पृथ्वी शेरचनदेखि पञ्चायतकालको अन्तिमसम्म प्रकाशित पत्रिका र पत्रकारिता गरेका व्यक्तिहरू सबैको योगदान बारे थप खोज अनुसन्धान गर्न आवश्यक देख्छु ।

२०४५/०४६ सालको जनआन्दोलपश्चात् बहुदलीय व्यवस्था पुनः स्थापना यता सञ्चालित पत्रिका/सञ्चार माध्यम र पत्रकारहरूको योगदानका बारेमा विशेष खोज अनुसन्धान गर्न आवश्यक देखिन्छ । उक्त कार्यमा नेपाल पत्रकार महासंघ रूपन्देहीको नयाँ नेतृत्व–२०७७ ले विशेष पहल गरोस् भन्ने मेरो अनुरोध छ । इतिहासको खोजी गरी कुन सञ्चार माध्यम र कुन व्यक्तिको के कस्तो योगदान रहेको छ रु त्यसको विवेचनासहित इतिहासलाई संस्थागत गर्नु आवश्यक छ । जीवीत अग्रज पत्रकारहरूसंग भेट गरी जानकारी लिई अभिलेखलाई व्यवस्थित गर्न आग्रह गर्दछु । यस महत्वपूर्ण कार्यमा मेरो सक्रिय भूमिका रहने समेत प्रतिवद्धता व्यक्त गर्दछु ।

यस आलेखमा वि.सं. २०५१ सम्मको सेरोफेरोलाई आधार मानी मैले जाने बुझेको आधारमा रूपन्देहीको पत्रकारिताको संक्षिप्त झलक मात्र प्रस्तुत गरिएको हो । यसमा भएका भूल, त्रुटी, जानकारी नभएका, छुटेका कुराहरूप्रति क्षमा चाहन्छु । यस आलेखमा छुटेका कुराहरू र त्यसयताको इतिहासलाई नयाँ खोजको रूपमा लिई अध्ययन अनुसन्धान गर्न अनुरोध गर्दछु ।
भवतु सब्ब मंगलम् ।

(डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि(पीएचडी) गरेका छन् ।)