आमाको दोस्रो बिहे पछि फूपूको शरणमा बसेकी अशक्त बालिका बलात्कृत

प्रकाशित मिति:

विराटनगर- इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले अशक्त बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा वृद्ध पुरुषलाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–३ स्थित फुपूको घरमा बस्दै आएकी नौ वर्षीया अशक्त बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा इटहरी–३ सुनौलो बस्तीका ६७ वर्षीय गाइने भनिने भगिराज दमाईलाई पक्राउ गरेको हो ।

शारिरीक र मानसिक रूपमा अशक्त बालिका हिँडडुल गर्न र बोल्न सक्दिनन् । उनको बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरिन् । आमाले दोस्रो बिहे गरेपछि अलपत्र परेकी उनी फुपूको संरक्षणमा थिइन् ।मङ्गलबार पीडित बसोबास गरेको कोठामा नाबालिकालाई जवरजस्ती करणी गरेको स्थानीयले देखेपछि हल्लाखल्ला भएको थियो । हल्ला भएपछि भागेका दमाईलाई प्रहरीले बुधबार बिहान इटहरी–३ धरधरेबाट पक्राउ गरेको हो ।पक्राउपछि जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए । त्यस्तै इलाका प्रहरी कार्यालय धरानले सुस्तमनस्थितिकी महिलालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

धरान–११ आँपगाछीमा बस्ने ५६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई पक्राउ गरेको हो । मङ्गलबार करणी गरेको उजुरी परेपछि उनी लगत्तै पक्राउ परेका थिए । साभार कोशीअनलाइन