जसपा विवाद : ढाँचा नपुर्‍याई पत्राचार

प्रकाशित मिति:

काठमाडौँ । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्।  महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ।

दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। निर्वाचन आयोगले बुधबार दुवै पक्षलाई चिठी लेखेर उनीहरूले आयोगमा पठाएको चिठी राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को अनुसूची १८ बमोजिम ढाँचा नमिलेको जनाउ दिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ठाकुर पक्षले आयोगमा पठाएको चिठीमा कार्यकारिणी समितिको निर्णयको प्रतिलिपिसमेत नराखेको बताए।

‘राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुवै पक्षले आयोगलाई लेखेको चिठीको ढाँचा मिलेन। त्यसमा पनि ठाकुरले पठाएको चिठीमा केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपिसमेत छैन’, श्रेष्ठले भने। दुवै पक्षले मंगलबार एकले अर्कोलाई पार्टीबाट निकालेको जानकारीसहितको पत्र आयोगलाई पठाएका थिए। आयोगले ढाँचा पूरा गरेर पत्राचार गर्न दुवै पक्षलाई आग्रह गरेको छ।

विवाद आयोगमा पुगेका बेला जसपाको दुवै पक्षले एकले अर्कोलाई विभिन्न आरोप लगाउँदै आफू नै आधिकारिक भएको र हुने दाबी गरिरहेका छन्। ‘पार्टी फुटेको होइन। रुखका बोक्रा झरेर गएको अवस्था हो,’ अध्यक्ष यादवले भने, ‘केही व्यक्तिलाई कारबाही गरिएको विषयलाई पार्टी फुटेको रूपमा बुझ्नु हुँदैन।’ ठाकुर पक्षका नेताहरू पनि पार्टी नफुटेको बताउँछन्। ‘पहिलो अध्यक्ष ठाकुरजी हुनुहुन्छ। जहाँ पहिलो अध्यक्ष हुन्छ, पार्टीको आधिकारिकता पनि उसैेसँग रहन्छ’, ठाकुर निकट नेता सुरेन्द्र झाले भने, ‘पार्टी फुटेको होइन।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।