पोखरा । गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापा संसद सदस्यबाट निष्काशित भएका छन्। जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त पत्रसँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढेको प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए। जनमोर्चाले सांसदलाई निकालेको जानकारी दर्ता भएको छ, आजै सभामुखले संसदलाई जानकारी गराउनुहुनेछ’, सचिव पोखरेलले भने, ‘राजनीतिक दल सम्बन्धी ऐनमा जे व्यवस्था छ, त्यही अनुसार हुन्छ।’ संसद सचिवालयका अनुसार सांसद थापालाई संसदबाट निष्काशन गरेको सूचना बिहिबार नै प्रकाशन हुने छ।
जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको थियो। जनमोर्चाको उक्त निर्णयसँगै गण्डकीमा काँग्रेस नेतृत्वमा सरकार बनाउने कसरत भएको थियो। जनमोर्चा सांसद थापाले पार्टी निर्णय विपरित काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले पार्टी साधारण सदस्यबाट समेत हटाएको थियो। राजनीतिक दल सम्बन्धी ऐनमा पार्टीबाट निर्वाचित सांसद पार्टी सदस्यबाट निष्काशन भएको जानकारी संसद सचिवालयमा प्राप्त भएपछि संसदबाट पनि निष्काशन हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार सांसद थापा संसदबाट निष्काशन भएका हुन्।