अमेरिकी सरकारले ५० लाख भ्याक्सिन नेपाललाई उपलब्ध गराउने

प्रकाशित मिति:

अमेरिकी सरकारले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । नेसनल सेक्यूरिटी काउन्सिलले नेपालको लागि कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने विषयमा आज एलोकेसन गर्ने सूचना अमेरिकास्थित नेपाली दुतावासलाई दिएको छ । दुतावास श्रोतले दिएको जानकारी अनुसार नेपालले ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको थियो । सेक्यूरिटी काउन्सिलले दुतावासलाई भ्याक्सिनको एलोकेसन आज गर्ने जानकारी दिएको श्रोतले नागरिकन्यूजलाई बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादक राष्ट्रका प्रमुखहरुलाई भ्याक्सिन खरिद प्रक्रिया सहजीकरण गरिदिन आग्रह गर्दै पत्र लेखेपछि अमेरिकाबाट कोरोनाको भ्याक्सिन नेपाल लैजाने औपचारिक पहल शुरु भएको थियो । राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई पत्र लेखेर कोरोना भ्याक्सिनका लागि गरिएको अनुरोधपछि अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको राजदुत डा युवराज खतिवडाले नागरिकन्यूजलाई बताए ।

राष्ट्रपति भण्डारीले भ्याक्सिन उत्पादन गर्ने वा भण्डारण गरेर राखेका भारत, चीन, अमेरिका, बेलायत र रुस गरी पाँच देशलाई मात्रै लेखेको थियो । अमेरिकाबाट नेपाल सरकारले ५० लाख डोज खरिद गर्न प्रस्ताव गरेको र थप अनुदानका लागि पनि पहल भैरहेको दुतावासले जनाएको छ । नेपालमा भारतबाट लगिएको एस्ट्राजेनेकाको पहिलो डोज भ्याक्सिन लगाई सकिएको छ । भारत आफैँ एस्ट्राजेनेकाको उत्पादक हो । नेपालमा १७ लाख मानिस एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन बाँकी रहेकोले सोही भ्याक्सिन नेपाल लैजान पहल शुरु भएपछि अमेरिकी सरकारको एफडिएले अनुमति नदिएकोले अनुमति पाउने वित्तिकै लैजाने प्रक्रिया शुरु हुने आशा गरिएको छ ।

अमेरिकासँग एस्ट्राजेनेकाको ६ करोड डोज भण्डारमा रहेकोले सो भ्याक्सिनका लागि पहल शुरु भएको हो । नेपाली दुतावासले जोनसन एण्ड जोनसनको पनि खरिद र अनुदान दुवैका लागि पहल शुरु गरिसकेको छ । अमेरिकामा, जोनसन एण्ड जोनसन, फाइजर र मोडेर्नाको खोप लगाएका छन् । संवैधानिक भूमिकामा रहेको राष्ट्रपतिले पत्र लेखेको भनी विरोधसमेत भईरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ८० मिलियन डोज कोरोनाबिरुद्ध भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने घोषणा गरेलगत्तै नेपाल सरकारले पहल गरेको थियो । अमेरिकाले कुनै देशलाई पक्षमा पार्न भ्याक्सिन नदिने बरु ८० मिलियन डोज भ्याक्सिन कोभ्याक्समार्फत प्रदान गर्ने ह्वाइटहाउसले बताएको छ जसमा कोरोना प्रभाव बढेकोले एसिया अमेरिकी प्राथमिकतामा परेको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स मार्फत भ्याक्सिनको न्यायसंगत वितरण र विज्ञान तथा सार्वजनिक स्वास्थ्यका तथ्यांक अनुशरणको सुनिश्चित गर्न कोभ्याक्स र अन्य साझेदारहरुसँग काम गर्ने अमेरिकाले जनाएको छ । ह्वाइट हाउसले भनेको छ, ‘अमेरिकाले अन्य देशहरुबाट आफ्नो पक्षमा समर्थन प्राप्त गर्नका लागि भ्याक्सिनको प्रयोग गर्नेछैन ।’

चीनले फरक फरक देशसँगको सम्बन्ध विस्तार र सुधारका लागि सिधै भ्याक्सिन सहयोग गर्दै भ्याक्सिन कूटनीति अपनाइरहेको सन्दर्भमा अमेरिकाले भने भ्याक्सिनलाई कुनै देशसँगको कूटनीतिक सम्बन्धका सन्दर्भमा प्रयोग नगर्ने जनाएको छ । भारतले पनि भ्याक्सिन कुटनीति अन्तरगत नेपाललाई भ्याक्सिन सहयोग गरेको थियो ।

राष्ट्रपति बाइडेनले अमेरिकामा प्रयोगका लागि स्वीकृति पाएका मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनका २० मिलियन डोज भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायसँग बाँड्ने घोषणा गरिसकेका छन् । जुन महिनाको अन्तिमसम्म ती भ्याक्सिन अमेरिकाबाट कोभ्याक्समार्फत पठाइने भएको छ । यो विश्वका कुनै पनि मुलुकले अन्तर्राष्ट्रिय समुदायलाई दिएको भ्याक्सिनभन्दा भन्दा पाँचगुणा बढी हो ।

बाइडेनले यस अगाडि नै ६० मिलियन डोज आष्ट्राजेनेका भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई वितरण घोषणा गरिसकेका छन् । यो २० मिलियन त्यसका अतिरिक्त हो । अमेरिकामा अष्ट्राजेनेका भ्याक्सिनले भने प्रयोगको स्वीकृति पाइसकेको छैन ।