छानबिन समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मी असहमत, बाँकेमा आन्दोलन

प्रकाशित मिति:

विक्रम खड्का, बुटवल- बाँकेस्थित भेरी अस्पताल नेपालगञ्‍जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले बिहीबार बेलुका पनि अस्पताल परिसरमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । १३ गते राति एक जना कोभिड(१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि आक्रमण गर्नुका साथै अस्पतालभित्र तोडफोड गरेका थिए ।

घटनापछि गठन गरिएको छानबिन समितिले ४ दिन लगाएर बुधबार बुझाएको प्रतिवेदन स्थानीय प्रशासनले सार्वजनिक गरेको थियो । जसमा अस्पतालको कमजोरीले गर्दा आवेगमा आई डाक्टर, नर्समाथि आक्रमण भएको उल्लेख छ ।सार्वजनिक प्रतिवेदनप्रति पीडित डाक्टर तथा नर्सहरूले असहमति जनाएका छन् । त्यसको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरूले दोषीमाथि कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै आएका हुन् ।

 

बिहीबारको प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले पिटाइ खाई खाई पनि काममै छौं, दोषीलाई कडा भन्दा कडा कारवाही गर, स्वास्थ्य सुरक्षा ऐन लागू गर भन्‍ने जस्ता प्लेकार्ड छातीमा टाँसेका थिए ।आन्दोलन उपचारमा अवरोध हुने गरी सचालन नगरिएको एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार दोषीलाई कारबाही हुनेमा शंका देखिएपछि आन्दोलन बढ्दै गएको छ ।