काठमाडौंमा आजबाट जोर बिजोर प्रणाली, आज बिजोरको पालो !

प्रकाशित मिति:

१३ मंसिर, काठमाडौ । काठमाडौंमा आजबाट जोर बिजोर प्रणाली लागू भएको छ । सरकारले उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको हो ।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको जनाइएको छ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ । मंसिर १३ गते आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू नहुने ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज म्यान्मारकी नेत्री आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् ।