बुटवल पावर कम्पनिद्वारा गल्याङ नगर अस्पतालका लागि झण्डै सात लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

गल्याङ । बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पतालका लागि झण्डै सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका वीच विपिसी आँधिखोला जलविद्युत केन्द्रले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महत्वपूर्ण सामाग्री सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो –‘बुटवल पावर कम्पनि र स्थानीय सरकारको रुपमा रहेको गल्याङ नगरपालिका बीच सुमधुर सम्बन्ध छ । यो सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दछु ।’नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाको बन्दै गरेको प्रशासनिक भवन निर्माणका लागि जग्गाको विषयमा पनि बुटवल पावर कम्पनीले महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट आँधीखोला जलविद्युत केन्द्रका लागि सक्दो सहजिकरण र सहयोग गर्ने आफु सधैं तयार रहेको बताउनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराईले नगर अस्पतालका लागि विपिसीका तर्फबाट गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो ।अस्पतालका सदस्य समेत रहनुभएका भट्टराईले महामारीको मिलेर सामना गर्नुपर्ने भन्दै यस्तै सहयोग सबै पक्षबाट गर्न आग्रह गर्नुभयो ।बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अति आवश्यक सामाग्रीहरु कम्पनिको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

उहाँले गल्याङ नगरवासीको स्वास्थ्यलाभको कामनाका लागि बुटवल पावर कम्पनी सधैं तत्पर रहेको बताउनुभयो ।कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपाने, चिकित्सक सहितका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।विपिसीले दुई वटा अक्सिजन कन्सन्टेटर, एक सय ५० वटा एण्टिजिन टेस्ट किट, ६ वटा अक्सिजन ग्याँस सिलिण्डर, १० वटा अक्सिजन रेगुलेटर, आठ वटा पल्स अक्सिमिटर, ३५ वटा पिपिई सेट र १५ वटा सर्जिकल पञ्जा सहयोग गरेको हो ।यस्तै, १८ सय वटा मास्क, ८० लिटर हेण्ड सेनिटाइजर, ८० वटा फेस सिल्ड तथा ५०० वटा सर्जिकल हेड क्याप गरी कुल ६ लाख, ८७ हजार पाँच सय ४० रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।