पत्रकार महासंघ रुपन्देहीको संस्थागत विकासको ऐतिहासिक सन्दर्भ

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाईं-रुपन्देहीमा पत्रकारहरुको सांगठनिक संरचनाको विकास कसरी भयो ? भन्ने सन्दर्भमा मैले केही दिन अघि लेखेको ‘रुपन्देहीको पत्रकारिता,एक विहङ्गम दृष्टि’ प्रकाशन भएपछि सामाजिक सञ्जालहरुमा विभिन्न ढंगले क्रिया – प्रतिक्रियाहरु आएका छन् । ती सुझावसहितका प्रतिक्रियाहरुले रुपन्देहीको पत्रकारिता इतिहासको थप अभिलेखीकृत गर्र्न सजिलो बनाएको मैले महसुस गरेको छु ।

पञ्चायतकालमा पत्रकारिताका तीन धार सक्रिय थिए । राजावादी धार, प्रजातान्त्रिक धार र वाम प्रगतिशील धार । त्यतिबेला दलहरुमाथि प्रतिबन्ध थियो । त्यसले गर्दा तीन धार मध्ये एउटा धार सत्तापक्षीय र अरु दुई धार सत्ता इतर अर्थात् पञ्चायत इतर । उल्लेखित धारहरु बीच वैचारिक संघर्ष भइरहन्थ्यो । पञ्चायती दमन तीब्र हुँदा सबै शक्ति संयुक्त भएर संघर्ष गर्थे । फेरि राजनीतिका धार फरक भएकाले इतर राजनीतिक दलहरु बीच पनि आपसमा द्वन्द्व पनि भइरहन्थ्यो । सबै प्रकारका द्वन्द्वहरुमा पत्रकारहरु पनि फरक – फरक धारमा विभाजित भएका हुन्थे । तापनि मुख्य दुस्मन निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यसको विरुद्धको संयुक्त मोर्चामा भने एक ठाउँमा हुने गर्दथे ।पञ्चायती दमन र प्रजातान्त्रिक अधिकार प्राप्तिको संघर्षमा रुपन्देही दुबै कोणबाट निकै चर्चित थियो । मैले २०३५÷२०३६ को विद्यार्थी आन्दोलनलाई राम्रोसंग अनुभव गरें । आफै आन्दोलनमा सक्रिय हुँदा पटक–पटक प्रहरीको लाठी, पञ्चायतका नाममा ब्रहमलूट गरिरहेका आततायी लठैतहरुको आक्रमणबाट धन्न धन्न ज्यान बचाउन सकियो । यो आन्दोलनले पञ्चायत ढाल्नका लागि पृष्ठभूमि तयार गरेको थियो भन्ने मलाई लाग्छ । यसको १० वर्षपछि २०४६ सालमा पञ्चायत ढल्यो । यस बीचमा पञ्चायत ढाल्न र बहुदलीय व्यवस्थाको पुःस्थापनाका सन्दर्भमा निकै ठूला आन्दोलनहरु भए । जनआन्दोलनको क्रममा कैयौं व्यक्तिहरुले सहादत प्राप्त गरे । कैयौले कठोर जेल जीवन बिताउन बाध्य हुनु प¥यो । यस अवधिमा म तत्कालीन माले सम्बद्ध अन्तर मा.वि. स्ववियू रुपन्देहीको सचिव(२०३६),अनेरास्ववियू रुपन्देहीको जिल्ला सचिव(२०३७), जिल्ला अध्यक्ष (२०३८– ०४० दुई पटक), २०४० देखि २०४४ सम्म अनेरास्ववियूको केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज, २०४५÷०४६ को संयुक्त जनआन्दोलनमा संयुक्त वाममोर्चा बुटवलको सचिव भएर काम गरें ।

 

यसले गर्दा मलाई २०३५÷०३६ देखि २०४६ साल सम्मको पञ्चायती शासन कालको दमन र आन्दोलनको प्रत्यक्ष अनुभव भयो । यो समय संघर्ष र आन्दोलन कै बीच व्यतित भयो । मुलृुकमा प्रजातन्त्र प्राप्तिका लागि कठोर संघर्ष मा भाग लिएर उपलब्धीका रुपमा प्रजातन्त्रको पुनःस्थापना भएकोमा गौरबबोध हुन्छ । त्यसयता केही समय संक्रमणकालीन बहुदलीय प्रणालीको अवस्था, आन्दोलनको उपलब्धीको दस्तावेजको रुपमा बनेको संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाका उतार चढावका वर्षहरु, १० वर्षे माओवादी युद्ध, राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको लोकतन्त्रप्राप्तिको संयुक्त आन्दोलन( २०६२–२०६३),गणतन्त्रको स्थापनासहित २०७२ मा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयाँ संविधानको घोषणा र त्यसको कार्यान्वयनका चुनौतीपूर्ण झण्डै ६ वर्षको यात्रा जारी रहेको छ । तरपनि मुलुकले स्थिरता पाउन सकेको छैन । मुलुक झनै संकटको भुमरीमा फस्दै गएको अवस्था छ । यो विषय समग्र राजनीतिक पाटो संग जोडिएकोले यसको फरक ढंगले विश्लेषण गरिनु आवश्यक छ भन्ने मलाई लाग्दछ ।मैले विगतलाई सम्झना गर्दै लेख्न बस्दा जीवनका भोगाइका पुराना कुराहरुको स्मरण आइहाल्दो रहेछ । २०३७ साल कार्तिक १ गतेको राती हो । रुपन्देहीको छपियामा साँस्कृतिक कार्यक्रम भइरहेको बेला अनेरास्ववियूका १४ वर्षे विद्यार्थी तारापति भट्टराईको पञ्चायती शासकहरुद्वारा गोली प्रहार गरी हत्या भयो । त्यतिबेला म अनेरास्ववियू रुपन्देहीको सचिव थिएं । त्यस हत्याकाण्डको विरोधमा संगठनको केन्द्रीय समितिले देशव्यापी संघर्ष गर्ने निर्णय ग¥यो । । यस क्रममा कैयन पञ्चायत विरोधी राजनीतिककर्मी र हामी विद्यार्थी मोर्चा सम्हालेकाहरु पञ्चायती शासकहरुद्वारा कडा वारेण्टमा प¥यौं । कैयन साथीहरु गिरफ्तारीमा पर्नुभयो ।

यस घटनाको विरोध गर्दै भव्य तयारीका साथ रुपन्देहीको सेमलारमा कार्तिक १६ गते फेरि अर्को जनवादी साँस्कृतिक कार्यक्रम आयोजना गरियो । त्यस आयोजनालाई राती १ बजे पञ्चायती गुण्डादलबाट सशस्त्र आक्रमण भयो । ठूलो धनजनको क्षति भयो । त्यसमा हामी विद्यार्थी रेडगार्ड समूहको जिल्ला नेतृत्वको हैसियतले सशस्त्र सहभागी थियौं । पञ्चायत विरोधी आन्दोलन एक पछि अर्को गरी चकिर्दै गयो । प्रहरी दमन पनि बढ्दै गयो । यसै क्रममा २०३७ साल चैत्र २४ गते अनेरास्ववियू कै आयोजनामा देशव्यापी पञ्चायती दमन विरुद्धको आन्दोलन घोषणा भयो । यस क्रममा अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीको आयोजनामा बुटवलमा ठूलो विरोध प्रदर्शन भयो । यस क्रममा ठूलो प्रहरी दमन भयो । हामी कैयौले मरणासन्न हुने गरी प्रहरीको लाठी खायौं । कैयौ विद्यार्थी साथीहरु गिरफ्तारीमा पर्नु भयो । हिरासत र जेल जीवन बिताउन बाध्य हुनु भयो ।पञ्चायती सत्ताको उन्मात बढ्दै जाने क्रममा प्रजातन्त्रको पक्षमा योगदान पु¥याउने हिसाबले निजी क्षेत्रबाट राजनीतिक दलहरुबाट प्रजातन्त्रको पक्षमा सूचना, समाचार र विचार सम्प्रेषण गर्ने पत्रकार र पत्रिकाहरुको आवश्यकता बोध गरी पत्रिका प्रकाशनमा पार्टीले नै कार्यकर्ता खटाउन थाल्यो । मलाई पनि विद्यार्थी राजनीतिसंगै मिडिया क्षेत्रको पनि जिम्मा दिइयो । यसै क्रममा मैले २०३८ साल साउन १ देखि भैरहवाबाट प्रकाशित दैनिक निर्णयमा आवद्ध भई दैनिक निर्णयका तत्कालीन सम्पादक रामचन्द्र भट्टराईको असिस्टेण्ट भई पत्रकारितामा प्रवेश गरेको हुँ
। त्यसयता २०४६ सम्म मैले विद्यार्थी मोर्चा अनेरास्ववियूको काम पनि गर्ने , आन्दोलनलाई बल पु¥याउने गरी लेखन कार्य(पत्रकारिता) लाई अगाडि बढाउने काम गरें । मेरो राजनीति र पत्रकारिताको यात्रा समानान्तर रुपमा अहिले सम्म पनि निरन्तर जारी छ । पञ्चायतकालमा पत्रकारहरुको अत्यन्तै न्यून संख्या थियो । रुपन्देही जिल्ला र अञ्चल समेटेर बनाइएका पत्रकार संगठनहरुमा मलाई सचिवको जिम्मेवारी दिइने गरिन्थ्यो । २०४९ पौष १८ गते नेपाल पत्रकार महासंघको नवनिर्मित विधान अनुसार प्रथम अधिवेशन भएपछि त्यो अधिवेशनले अध्यक्षमा मलाई निर्वाचित गरेपछि नयाँ अध्याय सुरु भएको हो ।यस बीच बितेको दश वर्ष ( २०३८–२०४८) मा पत्रकारिता अगाडि बढाउने सन्दर्भमा प्रजातान्त्रिक र वाम – प्रगतिशील पत्रकारहरुको अगुवाईमा संगठनात्मक गतिविधि अगाडि बढेको मलाई सम्झना छ । एउटा परम्परागत चलि आएको नेपाल पत्रकार संघको निरन्तरता र अर्कोतर्फ परिवर्तनलाई पत्रकारिताले सघाउने हिसाबले पत्रकारहरुको जिल्ला, अञ्चल र राष्ट्रिय भेलाहरु, त्यस्तैगरी विभिन्न प्रकृतिका संघ संगठनको निर्माण गरी पेशागत आवरणमा आन्दोलनलाई सघाउने हेतुले बनाइएका संगठनहरु यस बीचमा सक्रिय रहे ।यसै क्रममा २०४० सालमा रुपन्देहीको पूर्वी क्षेत्र सूर्यपुरामा नेपाली कांग्रेसको क्षेत्रीय भेलामा पञ्चायती शासकहरुद्वारा सांघातिक आक्रमण भयो । यादवनाथ आलोकसहित केही जना सहिद हुनु भयो । त्यो भेलामा गिरीजा प्रसाद कोइराला,शेर बहादुर देउवा, सुशील कोइराला, शैलजा आचार्यलगायतका शीर्षस्त नेताहरु संयोगले मात्र बच्न सफल हुनु भयो । यसको स्थलगत पहिलो रिर्पोटिङ्ग सञ्चारमाध्यममा मैले गरेको थिए । त्यो रिपोर्टिङ्ग निकै चर्चित पनि भयो । यस घटनाले पनि लोकतन्त्रका पक्षधर पत्रकारहरु संगठित भएर अगाडि बढ्नु पर्छ भन्ने आत्मबोध गरायो ।

मलाई जानकारीमा भए अनुुसार म पत्रकारितामा प्रवेश गर्दाको बखत २०३७÷०३८ मा रामचन्द भट्टराई तत्कालीन नेपाल पत्रकार संघ रुपन्देहीको अध्यक्ष हुनुहुथ्यो । नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा २०५१ फागुनमा प्रकाशित ‘रुपन्देहीको पत्रकारिता एक दिग्दर्शन’का अनुसार वि.सं. २०३१ सालमा अग्रज पत्रकार करुणानिधि शर्माको अध्यक्षतामा नेपाल पत्रकार संघ, रुपन्देहीको गठन भएको थियो । त्यसपछि गठन भएको जिल्ला समितिमा रामचन्द्र भट्टराई(२०३६) र त्यसपछि २०३८ यता मदनलाल पौडेल अध्यक्ष र म सचिव भई काम ग¥यांै । केही वर्ष यही कमिटीले काम ग¥यो । त्यसपछि अञ्चल कमिटी बनाऔं भन्ने सोच बन्यो र पहिलो चरणमा बाबुराम अर्याल अध्यक्ष र म सचिव , दोस्रो चरणमा कर्ण बहादुर कार्की अध्यक्ष र म सचिव भएर संगठनात्मक काम गरियो । अञ्चल कमिटीले काम गर्न थाले पछि जिल्ला कमिटी छाँयामा प¥यो । यो १० वर्षको बीचमा विशेषतः बुटवलमा वसन्तध्वज जोशीको नेतृत्व र संयोजनमा एक्सरे साप्ताहिकका माध्यमबाट पत्रकारिता अगाडि बढ्यो । भैरहवामा दैनिक निर्णय र विभिन्न साप्ताहिक पत्रिकाहरुको प्रकाशनले पत्रकारितालाई गति दिए ।
पञ्चायतको अन्त्यतिर २०४५÷०४६ मा बुटवलमा कर्णबहादुर कार्कीको सम्पादनमा प्रकाशित दैनिक लुम्बिनीको भूमिका महत्वपूर्ण रह्यो । विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुको योगदानबारे यो सानो आलेखमा पर्याप्त चर्चा गर्न सम्भव छैन । विशेषत ः ०३६ ÷०३७ साल यता २०४८ सम्म रुपन्देहीमा पत्रकारिताको संगाठनात्मक संरचनाका क्रममा बुटवलमा भएको पत्रकारहरुको एक भेलाबाट वसन्तध्वज जोशीको अध्यक्षतामा गठित ‘प्रेस क्लव अफ रुपन्देही केही समय निकै चर्चित रहयो । यस क्लवको गठन र विभाजनको सन्दर्भ अत्यन्त रोचक रहेको छ । रुपन्देहीमा रही पत्रकारिता गर्नेहरुको हितका लागि वसन्तध्वज जोशीले कल्याणकारी कोष स्थापनाका लागि खेल्नु भएको भूमिका पनि महत्वपूर्ण छ । यसैक्रममा लुम्बिनी गोरखपुर क्षेत्रीय पत्रकार गोष्ठी( सिद्धार्थनगर), सीमा क्षेत्र पत्रकार संघ गठन र त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउने गरी गरिएको प्रतिवद्धता महत्वपूर्ण रहेको छ । यस भेलालाई बुटवलबाट वसन्तध्वज जोशी र भैरहवाबाट नारायणप्रसाद सापकोटाको नेतृत्व र विशेष अगुवाई थियो ।

त्यो भेला आयोजक समितिको अध्यक्षमा वसन्तध्वज जोशी,उपाध्यक्षमा नारायणप्रसाद सापकोटा र सचिवमा म थिएं । यस बीचमा अग्रज पत्रकार डिल्लीप्रसाद आचार्यको संयोजकत्वमा श्रमजीवी पत्रकारहरुको क्षेत्रीय भेला लुम्बिनी, नारायणप्रसाद सापकोटाको विशेष अगुवाईमा भएको नेपाल भारत पत्रकार गोष्ठी, वसन्त पोखरेलको अध्यक्षतामा गठित श्रमजिवी पत्रकार मञ्च रुपन्देहीको गठन, नेपाल प्रेस युनियन, प्रगतिशील पत्रकार मञ्च, प्रेस चौतारी नेपाल आदि पत्रकार र पत्रकारितासंग सम्बन्धित संगठनहरुको निर्माण र विकासले पनि रुपन्देहीको पत्रकारितालाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । पञ्चायतकालमा भैरहवाबाट विमर्शमा रिपोर्टिङ्ग गर्नुका साथै जनआन्दोलनका समाचार अन्तराष्ट्रिय मिडियामा सम्प्रेषण गर्नमा अग्रज पत्रकार दिलीप भट्टराईको योगदान महत्वपूर्ण छ । २०४६÷०४७ बाट पत्रकारितामा सक्रिय युवा पत्रकार विनोद पहाडीले उत्पीडित समुदायको उत्थानका लागि पत्रकारिताका माध्यमबाट थाल्नु भएको अभियानले छोटो समयमा राष्ट्रिय रुपमा चर्चा पाएको हो । अहिले उहाँ राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षको रुपमा क्रियाशील हुनुहुन्छ ।

वि.सं. २०४८ र ०५१ सालको बीचमा युवा पत्रकार रामप्रसाद खनाल (सम्पादक, निष्पक्ष साप्ताहिक, हाल अमेरिका)ले बीबीसीमा रुपन्देहीबाट गर्नुभएको समाचार सम्प्रेषणको भूमिकाले त्यतिबेला निकै महत्व पाएको थियो । रुपन्देहीको पत्रकारिताका विभिन्न पक्षबारे यस अघि प्रकाशित सामग्रीको अध्ययन गर्दै थप खोज अनुसन्धान गरी इतिहासलाई जीवन्त र अभिलेखीकृत गर्नु नयाँ पुस्ताका लागि महत्वपूर्ण कार्यभार हो भन्ने मलाई लाग्दछ । यसमा उल्लेखित कुराहरु मूलतः वि.सं. २०५१ को सेरोफेरोलाई मात्र आधार मानिएकोले त्यसयताको इतिहास यसमा समावेश छैन । यस अघि २०७८ जेठ १९ गते दैनिक पत्र राष्ट्रिय दैनिकमा प्रकाशित ‘रुपन्देहीको पत्रकारिता एक विहङ्गम दृष्टि’ आलेखमा छुटेका र मेरो स्मृतिमा रहेका कुराहरुलाई मात्र पूरक सामग्रीको रुपमा थपेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।
(डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि(पीएच्.डी) गर्नुभएको छ ।)